काठमाडौं:= प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले युवा,युवतीको बढ्दो वैदेशिक पलायनलाई तत्काल पूर्ण रूपमा रोक्न सम्भव नरहेको र मुखले बोले जस्तो सजिलो पनि नरहेको स्वीकार गर्दै त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने दिशामा तीव्र रूपमा काम भइरहेको जनाएको छ।
सरकारको पहिलो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले वैदेशिक रोजगारी नेपाली युवाका लागि अझै पनि महत्वपूर्ण विकल्प रहेको उल्लेख गर्दै यसको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार सरकारले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा आकर्षित गर्न नयाँ राष्ट्रिय युवा ऐन ल्याउने, युवा विभाग स्थापना गर्ने तथा युवा स्वरोजगार कोषमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको छ।
यस्तै, वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन श्रमिकको सीप अभिवृद्धि, श्रम बजार विस्तार तथा नयाँ रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले थप १६ देशसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाइएको सचिव काफ्लेले जानकारी दिए।
सरकारले दीर्घकालीन रूपमा स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्दै विदेश जाने नेपाली श्रमिकको हकहित, सुरक्षा र सम्मान सुनिश्चित गर्ने नीतिका साथ काम भइरहेको जनाएको छ।




















