काठमाडौं:= वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुप प्रा.लि. (RK Manpower Group Pvt. Ltd.) माथि ३ लाख रुपैयाँ जरिवाना गर्दै कारबाही गरेको छ। विभागले संस्थालाई पहिलो पटकका लागि सचेतसमेत गराएको जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) बमोजिम इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृति (Individual Labour Approval) सम्बन्धी प्रक्रिया सञ्चालन गरी कामदार विदेश पठाउन पाउने व्यवस्था छैन।
यस कानुनी प्रावधानको पूर्ण पालना गराउन विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो। तर अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था तथा विभागको निर्देशन उल्लंघन गरेको पुष्टि भएपछि विभागले २०८३ असार १८ गते कारबाही गर्ने निर्णय गरेको हो।
विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ अनुसार संस्थालाई पहिलो पटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ।
विभागले वैदेशिक रोजगारको नाममा हुने अवैध गतिविधि, व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




















