[ विप्लवी तेन्जु योन्जन ]
पत्रकारिता कुनै व्यापारिक वस्तु होइन। यो जनताको चेतनाको औजार हो। इतिहासले देखाएको छ—जहाँ पत्रकारिता सत्यको पक्षमा उभियो, त्यहाँ लोकतन्त्र बलियो भयो; जहाँ पत्रकारिता सत्ता, पूँजी वा लोकप्रियताको दास बन्यो, त्यहाँ समाज अन्धकारतर्फ धकेलियो। आज नेपालमा एउटा गम्भीर प्रश्न उठेको छ। हामी पत्रकारिता गरिरहेका छौँ कि ‘कन्टेन्ट उद्योग’ सञ्चालन गरिरहेका छौँ?
सूचनाको अधिकार लोकतन्त्रको प्राण हो। तर सूचनाको नाममा मानवीय संवेदनाको व्यापार गर्ने अधिकार कसैलाई छैन। प्रेस स्वतन्त्रता नागरिकको निजी जीवनमाथि आक्रमण गर्ने अनुमति होइन। यो कुरा नेपालको संविधानले स्पष्ट रूपमा स्वीकार गरेको छ। संविधानको धारा १९ ले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्छ भने धारा २८ ले प्रत्येक नागरिकको गोपनीयताको हकलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। लोकतन्त्रको सुन्दरता यिनै दुई अधिकारबीचको सन्तुलनमा छ।
दुःखको विषय, आज यही सन्तुलन कमजोर हुँदै गएको छ। दुर्घटनामा छटपटाइरहेको नागरिकमाथि क्यामेरा तेर्स्याइन्छ। शोकमा डुबेको परिवारसँग उत्तेजक प्रश्न सोधिन्छ। बिरामीको ओछ्यानसम्म पुगेर ‘एक प्रतिक्रिया दिनुहोस्’ भनिन्छ। निजी जीवनलाई सार्वजनिक तमासामा बदलिन्छ। अनि त्यसलाई पत्रकारिता भनिन्छ। होइन, यो पत्रकारिता होइन। यो पीडाको व्यापार हो। पत्रकारिताको उद्देश्य मानिसलाई वस्तु बनाउनु होइन; मानिसको गरिमाको रक्षा गर्नु हो।
नेपाल पत्रकार महासंघको पत्रकार आचारसंहिता ले सत्य, निष्पक्षता, मानव गरिमाको सम्मान, गोपनीयताको संरक्षण र तथ्यमा आधारित समाचारलाई पत्रकारिताको आधार मानेको छ। गोपनीयतासम्बन्धी ऐन, २०७५ ले पनि व्यक्तिको निजी जीवनमा अनधिकृत हस्तक्षेपलाई कानुनी प्रश्नको विषय बनाएको छ। त्यसैले प्रेस स्वतन्त्रताको नाममा हुने प्रत्येक अराजकता स्वतन्त्रताको प्रयोग होइन, स्वतन्त्रताको दुरुपयोग हो।
आज अर्को चिन्ताजनक रोग छ—पत्रकारिताको राजनीतिक र आर्थिक कब्जा।
जब समाचारको मूल्य विज्ञापनदाताले निर्धारण गर्छ, पत्रकारिता कमजोर हुन्छ। जब समाचारको भाषा दलको घोषणापत्रसँग मिल्न थाल्छ, लोकतन्त्र कमजोर हुन्छ। जब पत्रकार जनताको प्रश्नभन्दा नेताको भाषण प्रसारणमा व्यस्त हुन्छ, प्रेस आफ्नो ऐतिहासिक भूमिकाबाट विचलित हुन्छ।
पत्रकार कुनै राजनीतिक विचार राख्न सक्छ। त्यो उसको नागरिक अधिकार हो। तर समाचारको कुनै पार्टी हुँदैन। समाचारको कुनै झण्डा हुँदैन। समाचारको एउटै पक्ष हुन्छ—सत्य।
लोकतन्त्रमा पत्रकारिता राज्यको विरोधी होइन, राज्यको विवेक हो। पत्रकारको काम सरकार ढाल्नु वा बचाउनु होइन; जनतालाई सत्य जानकारी दिनु हो। सत्ता गलत भए प्रश्न गर्नुपर्छ, प्रतिपक्ष गलत भए पनि प्रश्न गर्नुपर्छ। यही निष्पक्षता पत्रकारिताको मेरुदण्ड हो। प्रविधिले सूचना उत्पादनलाई लोकतान्त्रिक बनाएको छ। यो सकारात्मक परिवर्तन हो। तर प्रविधिले कसैलाई स्वतः पत्रकार बनाउँदैन। जस्तै स्टेथोस्कोप किनेर चिकित्सक बन्न सकिँदैन, कालो कोट लगाएर न्यायाधीश बन्न सकिँदैन, त्यसैगरी माइक समात्दैमा पत्रकार बन्न सकिँदैन।
पत्रकारिता अध्ययन, अनुशासन, कानुन, नैतिकता र सार्वजनिक उत्तरदायित्वको निरन्तर अभ्यास हो।
आज आवश्यक बहस प्रेस स्वतन्त्रता घटाउने होइन; पत्रकारिताको विश्वसनीयता बढाउने हो। आचारसंहिताको प्रभावकारी कार्यान्वयन, तथ्य परीक्षणको संस्कार, व्यावसायिक प्रशिक्षण र उत्तरदायित्वको संस्कृति विकास नगरी लोकतन्त्रको चौथो अङ्ग बलियो हुन सक्दैन।
समाज परिवर्तन बन्दुकले मात्र गर्दैन, विचारले पनि गर्छ। र विचारलाई जनतासम्म पुर्याउने सबैभन्दा शक्तिशाली माध्यम पत्रकारिता हो। त्यसैले पत्रकारिता यदि बजारको नाफा, दलको स्वार्थ वा सामाजिक सञ्जालको एल्गोरिदमको कैदी बन्यो भने जनताको चेतना पनि बन्धक बन्छ।
समयले पत्रकारितालाई एउटा प्रश्न सोधिरहेको छ—तिमी सत्यको पहरेदार हौ कि सनसनीको व्यापारी?
यस प्रश्नको उत्तर कुनै अदालतले दिनेछैन, कुनै सरकारले पनि होइन। उत्तर इतिहासले दिनेछ। र इतिहासले जहिल्यै सत्यको पक्षमा उभिएकालाई मात्र सम्मान गरेको छ।
पत्रकारिता लोकतन्त्रको चौथो अङ्ग हो। त्यसैले यसलाई सबैभन्दा पहिले आफ्नै अनुशासन, नैतिकता र जनउत्तरदायित्वप्रति इमानदार हुनैपर्छ। किनभने सत्यविना पत्रकारिता रहँदैन, र जिम्मेवार पत्रकारिताविना लोकतन्त्र टिक्दैन।




















