जसलाई लकडाउनले व्यवसायी बनायो

काठमाडौं । कोरोना महामारी नफैलिएको भए राकेश महर्जन यति बेला चिनियाँ पर्यटकहरूलाई घुमाइरहेका हुन्थे । लकडाउनका कारण राकेशले पर्यटक घुमाउन नपाएको पाँच महिना बितिसक्यो ।

डेढ दशकदेखि गर्दै आएको काम रोकिएपछि उहाँको नियमित आम्दानीको बाटो बन्द भयो । कोरोना महामारी विश्वभर तीव्र गतिमा फैलिन थालेपछि पर्यटन व्यवसायमा लामो समय असर पर्ने देखेर राकेशको मनमा आफैँले केही व्यवसाय सञ्चालन गर्ने सोच पलायो ।

लकडाउनकै बीच राम्रो चल्ने व्यवसाय के होला भनेर सोच्न थाल्नुभयो । त्यसपछि आफ्नो नजिकको साथी राजेश महर्जनसँग व्यवसायबारे सल्लाह गर्नुभयो । राशेक खानेपानी विज्ञ भएकाले उहाँले दुवै जना मिलेर पानी फ्याक्ट्री सञ्चालन गरौंँ भन्ने प्रस्ताव राख्नुभयो । साथीलाई ज्ञान भएको विषयसँग सम्बन्धित व्यवसाय गर्दा राम्रो हुने देखेर पानी व्यवसाय सुरु गरिएको उहाँले बताउनुभयो । लकडाउनकै बीच दुई जना मिलेर ललितपुरको टौखेलमा रहेको एक पानी फ्याक्ट्री लिजमा लिएर संचालन गरे ।

‘आप्mनै केही व्यवसाय गर्ने सोच मलाई पहिलेदेखि नै थियो’ राकेशले भन्नुभयो ,‘ट्रेकिङबाट पनि राम्रै आम्दानी भइरहेकाले त्यतै व्यस्त भइयो, अहिले भने लकडाउनले यो अवसर जुरायो ।’ लकडाउनले गर्दा पर्यटन व्यवसायमा आबद्ध भएकाहरू यतिबेला बेरोजगार छन् । साथीहरू सबै बेकामे बसिरहँदा राकेशलाई भने लकडाउने व्यवसायी बन्ने अवसर जुराएको छ ।

‘यस्तै हो भने पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन लामो समय लाग्छ होला । खाली बसेर बाँच्न सकिँदैन केही काम त गर्नैप¥यो’ राकेशले भन्नुभयो, ‘जस्तोसुकै विपत्ति आइपरे पनि बाँच्नलाई पानी नभई नहुने भएकाले सुरक्षित देखेर यो व्यवसायमा हात हालिएको हो ।’

राजेशलाई कामको सिलसिलामा प्रायः बाहिरै जानुपर्ने भएकाले फ्याक्ट्रीको जिम्मा राकेशलाई नै छ । बिहान सबेरै उठेर पाटनबाट टौखेल फ्याक्ट्रीमा जाने र दिनभर काम गरेर बेलुकी घर फर्किने राकेशको दिनचर्या नै बनेको छ । आफूले सुरु गरेको व्यवसाय कसरी फस्टाउने भन्ने उहाँलाई दिनरात पिरलो लागिरहन्छ । राति सुत्ने समयबाहेक बाँकी समय उहाँले पानीको गुणस्तर बढाउने तथा व्यवसाय फस्टाउने बारेमै सोच्नुहुन्छ ।

‘पानी फ्याक्ट्री धेरै भएकाले निकै प्रतिस्पर्धा छ’ राकेशले भन्नुभयो, ‘अरूको भन्दा गुणस्तर पानी कसरी दिन सकिन्छ भनेर लागिएको छ ।’ अर्का लगानीकर्ता राजेश आफँै पानी विशेषज्ञ भएकाले पनि ट्रिगुन पानी फ्याक्ट्रीबाट उत्पादित पानी अरुको भन्दा गुणस्तर रहेको उहाँले दाबी गर्नुभयो । 

उहाँहरूले सञ्चालन गरेको पानी फ्याक्ट्रीमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । लकडाउनको बेला पनि पानी उत्पादन जारी रहेकाले आफू र आफ्नो फ्याक्ट्रीका कामदारहरूलाई आर्थिक रुपमा खासै गाह्रो नभएको उहाँले सुनाउनुभयो । ट्रेकिङको काम लकडाउनले गर्दा ठप्प हुँदा बेरोजगार बनेका राकेशका साथीहरू दिनहुँजसो उहाँको पानी फ्याक्ट्रीमा पुग्छन् र उहाँलाई सफलताको शुभकामना दिन्छन् ।

‘आफूहरू लकडाउने बेरोजगार बने पनि साथीले व्यवसाय सुरु गरेको देख्दा खुसी लागेको छ’ राकेशका साथी विजय अवाडेले भन्नुभयो, ‘कहिलेकाँही फ्याक्ट्रीमै पुगेर साथीलाई हौसला दिन्छाँै ।’

सानैदेखि टुरिस्ट गाइड बन्ने सोच बनाउनुभएका राकेशले जापानी भाषामा डेढ बर्षे डिप्लोमा कोर्ष गर्नुभयो । त्यसपछि जापान जाने सोच भए पनि जाने अवसर जुरेन । पछि चाइनिज भाषा सिक्दा भविष्य राम्रो हुने ठानेर उहाँले चाइनिज भाषा पनि सिक्नुभयो, त्यसबाटै  चिनियाँ पर्यटक घुमाउने काम पाउनुभएको थियो ।

करिव १० वर्षसम्म टुरिस्ट गाईडमा काम गर्नुभएका राकेशले दुई वर्ष जति ट्रेकिङको काम गर्नुभयो । पहिले निकै राम्रो रहेको पर्यटन व्यवसाय ०७२ सालको भूकम्पपछि खस्किँदै कारोनाका कारणले पुरै ठप्प हुँदा आफूले ट्रेकिङको काम छोडेर व्यवसाय सुरु गरेको उहाँले सुनाउनुभयो । भित्र मनबाटै चाहेको काममा हात हालिएकाले आफू निकै सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो । ‘सुरुमा राम्रो प्रतिफल नपाइएला तर, विस्तारै राम्रो हुने आशा छ’ राकेशले भन्नुभयो, ‘निकट भविष्यमै एक लिटरको मिनरल वाटर पनि उत्पादन गर्ने योजना छ । हेरौँ कत्तिको सफल भइन्छ ।’ राकेशको फ्याक्ट्रीबाट हाल दैनिक चार सय जार पानी उत्पादन भइरहेको छ ।