नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या वृद्धि हँुदै गइरहेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो सँगै भारतका कुल संक्रमितहरूको संख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ । शनिबार एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ९४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । कुल संक्रमितमध्ये २७ लाख १५ हजार बढी संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
भारतमा कोरोनाका कारण आइतबार सांझसम्म अहिलेसम्म ६३ हजार ७ सयजनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट विश्वमै धेरै प्रभावित देशहरूको सूचीमा रहेको भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना संक्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।




















