मलेसियाका राजाविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने सुरक्षागार्डलाई ८ महिना जेल, ५० हजार रिङ्गेट जरिवाना।

कुचिङ (सारावाक/मलेसिया):= मलेसियाका राजा महामहिम सुल्तान इब्राहिमविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको अभियोगमा एक सुरक्षाकर्मीलाई ८ महिनाको जेल सजाय र ५० हजार रिङ्गेट जरिवाना गरिएको छ।

जरिवाना नतिरे थप दुई महिना जेल बस्नुपर्ने अदालतले आदेश दिएको छ। कुचिङ सेसन्स अदालतकी न्यायाधीश आइरिस अवेन जोनले ४६ वर्षीय रादेन मोहम्मद नोरहाकिम रादेन इब्राहिमलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएकी हुन्।

अदालतका अनुसार अभियुक्तले गत वर्ष फागुन १ गते फेसबुकमा अरूलाई दुःख, हैरानी तथा आक्रोश उत्पन्न गराउने उद्देश्यले राजा सुल्तान इब्राहिमविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए। उक्त टिप्पणी सोही दिन बेलुका मलेसियाली सञ्चार तथा बहुमाध्यम आयोगले साइबरजायास्थित कार्यालयबाट अवलोकन गरेको थियो।

उनीविरुद्ध सञ्चार तथा बहुमाध्यम ऐन १९९८ को दफा २३३(१)(क) अन्तर्गत मुद्दा दायर गरिएको थियो। यस दफाअनुसार दोषी ठहर भएमा पाँच लाख रिङ्गेटसम्म जरिवाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

फैसला सुनाउँदै न्यायाधीश आइरिसले सामाजिक सञ्जालमा यस्ता टिप्पणीले जनमानसमा नकारात्मक प्रभाव पार्ने र सार्वजनिक हितमा गम्भीर असर पुर्‍याउने बताइन्।

उनले भनिन्, “तपाईंले सम्पूर्ण मलेसियाली जनता र महामहिम राजासँग क्षमा याचना गर्नुपर्छ। मलाई माफी माग्नुको कुनै अर्थ छैन, किनभने भइसकेको क्षति फिर्ता हुन सक्दैन।”

मुद्दामा मलेसियाली सञ्चार तथा बहुमाध्यम आयोगका अभियोजन अधिकृत नाजरुल निजाम मोहद जामेरीले सरकारी पक्षको बहस प्रस्तुत गरेका थिए। अभियुक्तले भने कुनै कानुनी प्रतिनिधि नराखी अदालतमा आफ्नो दोष स्वीकार गरेका थिए।

– बर्नामा