क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियालाई थप पारदर्शी, छिटो र कम खर्चिलो बनाउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ‘तुराप’ (TURAP) प्रणाली प्रस्ताव गरिएको छ।
निजी सूचना प्रविधि कम्पनी बेस्टिनेटले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत बिचौलियाको भूमिका हटाई रोजगारदाताले सिधै विदेशी कामदार भर्ना गर्न सक्ने व्यवस्था गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित प्रणालीले कामदार भर्ना लागत घटाउने, अनावश्यक शुल्क नियन्त्रण गर्ने तथा वैदेशिक रोजगारीका लागि जाने कामदारमाथिको ऋणको भार कम गर्ने दाबी गरिएको छ। तर, मलेसियाको गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयले यो प्रस्ताव हाल अध्ययन र छलफलकै चरणमा रहेको तथा यसबारे कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्।
यसैबीच, एशोसिएसन अफ एम्प्लोयमेन्ट एजेन्सीज मलेसिया (पापा) लगायत सरोकारवालाहरूले प्रणाली लागू गर्नुअघि यसको स्वतन्त्र र विस्तृत प्रभाव मूल्याङ्कन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री अनवर इब्राहिमसमक्ष अर्थ मन्त्रालय तथा मलेसियाली लगानी विकास प्राधिकरणमार्फत यस विषयमा गहिरो अध्ययन गराउन आग्रह गरेका छन्।
रोजगार एजेन्सीहरूको भनाइअनुसार नयाँ प्रणालीले विशेषगरी साना तथा मझौला उद्योगमा थप आर्थिक भार सिर्जना गर्न सक्ने, साथै विदेशी कामदारको आपूर्तिमा समस्या आउन सक्ने भएकाले त्यसको विस्तृत अध्ययन आवश्यक छ।दर्तावाला रोजगार एजेन्सीहरूले आफूहरूको कानुनी भूमिकालाई नयाँ डिजिटल प्रणालीमार्फत विस्थापित वा बेवास्ता गर्न नहुने धारणा पनि सार्वजनिक गरेका छन्।
नेपालजस्ता स्रोत मुलुकका कामदार तथा वैदेशिक रोजगार व्यवसायीहरूसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले मलेसिया सरकारले यस विषयमा लिने अन्तिम निर्णय र कार्यान्वयनको मोडेललाई नेपालमा पनि चासोका साथ हेरिएको छ।
स्रोत : स्थानीय सञ्चारमाध्यम




















