क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत श्रमिकहरूलाई कार्यस्थल बाहिर हुने दुर्घटनाबाट समेत सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको ‘लिन्दुङ २४ जाम’ (LINDUNG 24 Jam) सामाजिक सुरक्षा योजना प्रभावकारी बन्दै गएको छ। योजना सुरु भएको छोटो अवधिमै सयौँ श्रमिकले प्रत्यक्ष लाभ पाउन थालेका छन्।
मलेसियाको सामाजिक सुरक्षा सङ्गठन पर्केसो / सोक्सो (PERKESO/SOCSO) का अनुसार हालसम्म यस योजना अन्तर्गत परेका दाबीमध्ये १३६ वटा दाबी स्वीकृत भइसकेका छन्। स्वीकृत दाबीबापत प्रभावित श्रमिक तथा उनीहरूका परिवारलाई ६ लाख ७२ हजार ७४३ रिङ्गीटभन्दा बढी आर्थिक सहायता वितरण गरिएको छ।
मलेसियाका मानव संसाधन मन्त्री दातुक श्री आर. रामनन ले योजना कार्यान्वयनपछि प्राप्त कुल आवेदनमध्ये ६२.९ प्रतिशत दाबी स्वीकृत भइसकेको जानकारी दिएका छन्। उनका अनुसार यो योजनाले कामको समयबाहेक हुने दुर्घटनामा परेका श्रमिक तथा उनीहरूका परिवारलाई आवश्यक आर्थिक, स्वास्थ्य तथा पुनःस्थापना सहयोग उपलब्ध गराउँदै आएको छ।
यसअघि मलेसियामा कार्यस्थलभित्र वा काममा जाँदा–आउँदा हुने दुर्घटनालाई मात्र सामाजिक सुरक्षा सुविधामा समेटिएको थियो। तर ‘लिन्दुङ २४ जाम’ लागू भएपछि श्रमिकहरू अब दिनको २४ घण्टा र हप्ताको सातै दिन सामाजिक सुरक्षा संरक्षणको दायरामा आएका छन्।
श्रमिकमैत्री मानिएको यो योजनाबाट मलेसियामा कार्यरत नेपालीसहित लाखौँ विदेशी तथा स्थानीय कामदारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। श्रमिकहरूको कल्याण र सामाजिक सुरक्षालाई थप मजबुत बनाउने दिशामा यो योजना महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार कार्यस्थल बाहिर हुने दुर्घटनाले पनि श्रमिक र परिवारको जीवनमा गम्भीर आर्थिक असर पार्ने भएकाले यस्तो सुरक्षा योजनाले श्रमिकहरूको आत्मविश्वास बढाउनुका साथै सामाजिक सुरक्षाको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।




















