क्वालालम्पुर (मलेसिया):= अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को कडा मौद्रिक नीतिको प्रभावले अमेरिकी डलर लगातार बलियो बन्दै जाँदा मलेसियाली मुद्रा रिङ्गेट थप दबाबमा परेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरप्रति बढ्दो आकर्षणका कारण रिङ्गेटको विनिमय दरमा निरन्तर गिरावट देखिएको हो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रणका लागि यस वर्ष ब्याजदरमा थप २५ बेसिस पोइन्टसम्म वृद्धि हुन सक्ने सङ्केत दिएपछि विश्व बजारमा डलरको माग बढेको छ। यसको प्रत्यक्ष असर मलेसियाली वित्तीय बजारमा देखिएको छ, जहाँ रिङ्गेट अमेरिकी डलरको तुलनामा कमजोर बन्दै प्रतिडलर ४.१३ को स्तरसम्म झरेको बताइएको छ।
आज शनिबारको दिन बिनिमय दरअनुसार नेपाली मुद्रा बजारमा मलेसियन आरएम १ को खरिददर ३६.४१ रहेको छ्, भने बिक्रीदर ३६.५५ रहेको छ । रेमिटेन्स र बैंकले थोरै तलमाथि गरि कारोबार गर्न पाईरहेका छ्न ।
बैंक मुआमलत मलेसियाका प्रमुख अर्थशास्त्री डा. मोहम्मद अफजानिजम अब्दुल रसिदले अमेरिकामा ब्याजदर लामो समयसम्म उच्च रहने सम्भावनाका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा डलरतर्फ आकर्षित भएको बताए। उनका अनुसार यही कारणले रिङ्गेटसहित अधिकांश एसियाली मुद्राहरू दबाबमा परेका छन्।
रिङ्गेटको अवमूल्यनले मलेसियामा कार्यरत लाखौं विदेशी श्रमिकलाई समेत असर पार्ने देखिएको छ। विशेषगरी नेपाली श्रमिकहरूका लागि रिङ्गेट कमजोर हुनु चिन्ताको विषय बनेको छ, किनकि रेमिट्यान्समार्फत नेपाल पठाइने रकमको मूल्य घट्दा उनीहरूको वास्तविक आम्दानीमा प्रत्यक्ष असर पर्छ।
अर्थविद्हरूले विश्व आर्थिक अनिश्चितता र अमेरिकी मौद्रिक नीतिको आगामी दिशाले रिङ्गेटको मूल्यमा थप उतारचढाव ल्याउन सक्ने भएकाले विदेशी मुद्राको बजारलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन्।




















