मलेसियामा नक्कली डाक्टर बनेर अवैध क्लिनिक चलाउने पाकिस्तानी नागरिक पक्राउ।

क्वालालम्पुर:= मलेसियाको सेलाङ्गोर राज्यस्थित सुबाङ बेस्टारी क्षेत्रमा अर्कै व्यक्तिको चिकित्सा अभ्यास प्रमाणपत्र प्रयोग गरी ‘नक्कली डाक्टर’ बनेर अवैध रूपमा क्लिनिक सञ्चालन गर्ने एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

मलेसियाको अध्यागमन विभागको गुप्तचर तथा विशेष अपरेशन टोलीले करिब एक महिना लामो निगरानी र अनुसन्धानपछि जुन २५, २०२६ मा उक्त क्लिनिकमा आकस्मिक छापा मारेर उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिसँग मलेसियामा बसोबास गर्न आवश्यक कुनै पनि वैध राहदानी वा यात्रा सम्बन्धी कागजात फेला नपरेको विभागले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार उक्त क्लिनिक विगत आठ महिनादेखि गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको थियो। बिरामीलाई झुक्याउन क्लिनिकको भित्तामा अर्कै चिकित्सकको वार्षिक अभ्यास प्रमाणपत्र (एपीसी) झुण्ड्याइएको पाइएको छ।

अनुसन्धानका क्रममा बिरामीको कुनै स्वास्थ्य परीक्षण नगरी प्रतिव्यक्ति २० रिंगिट लिएर नक्कली बिरामी बिदा प्रमाणपत्र (एमसी) बिक्री गर्ने गरिएको समेत खुलेको छ। छापाका क्रममा स्टेथोस्कोप, विभिन्न औषधि, नामका छाप, बिरामीको अभिलेख तथा अन्य व्यवसायिक कागजातहरू बरामद गरिएको छ।

पक्राउ परेका पाकिस्तानी नागरिकलाई मलेसियाको अध्यागमन ऐन १९५९/६३ को धारा ६(१)(ग) अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुत्राजयास्थित अध्यागमन विभागको मुख्यालयमा हिरासतमा राखिएको छ।

यस घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन विभागले एक स्थानीय मलेसियाली महिलालाई पनि उपस्थित हुन कानुनी नोटिस जारी गरेको जनाएको छ।

सन् २०२४ यता मलेसियामा विदेशी नागरिकले नक्कली डाक्टर बनेर अवैध क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ परेको यो चौथो घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्रोत : स्थानीय सञ्चारमाध्यम