विदेशी कामदारका समस्या समाधान गर्न मलेसियामा विशेष मन्त्रिपरिषद् समिति बैठक बस्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदारसँग सम्बन्धित समस्या तथा श्रम बजारमा देखिएका चुनौतीहरूको समाधान खोज्न आगामी साताको सुरुमै मन्त्रिपरिषद् समितिको विशेष बैठक बस्ने भएको छ। प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारी प्रवक्ता तथा सञ्चार मन्त्री फहमी फाजिलका अनुसार, विशेष बैठकको अध्यक्षता तथा नेतृत्व उपप्रधानमन्त्री दातुक सेरी डा. अहमद जाहिद हमिदीले गर्नेछन्। बैठकमा विशेष गरी खाद्य तथा पेय पदार्थ क्षेत्र, उत्पादन उद्योग, निर्माण क्षेत्र तथा अन्य व्यवसायमा देखिएको विदेशी कामदारको अभाव, कामदारको कोटा निर्धारण, भर्ना प्रक्रिया र विद्यमान श्रम नीतिमा आवश्यक सुधारका विषयमा विस्तृत छलफल हुनेछ।

साथै, गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयबीच समन्वय गरी व्यवसायीहरूले उठाएका समस्याको व्यावहारिक समाधान खोजिने जनाइएको छ। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्य भएकाले यस बैठकका निर्णयलाई नेपाली समुदायले पनि चासोका साथ हेरिरहेका छन्।

बैठकबाट हुने निर्णयले मलेसियामा कार्यरत तथा भविष्यमा रोजगारीका लागि आउन चाहने नेपाली श्रमिकको कानुनी प्रक्रिया, रोजगारीको अवसर, सुरक्षा तथा सेवा–सुविधामा प्रत्यक्ष प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।