लकडाउनको विरोध गर्दै बर्लिनमा हजारौँको प्रदर्शन

बर्लिन । यतिवेला विश्व नै कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यसको रोकथाम र नियन्त्रणका लागि सबै देशले विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । यस्तैमा जर्मनीको सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको प्रतिवन्धको जर्मनको राजधानी बर्लिनमा विरोधमा प्रदर्शन भएको छ । एजेन्सीका अनुसार विरोधमा हजारौँ मानिसहरू सहभागी छन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रताविरोधी रहेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

जर्मनीको बर्लिनमा भेला भएका हजारौँ सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका छन् । भेलामा सहभागीहरूलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा बेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

सोही क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् । बर्लिनमा भएको प्रदर्शनमा सहभागीमध्ये ३ सय जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अरूलाई विभिन्न स्थानका ¥यालीबाट पक्रेको हो । कोरोना भाइरसमात्रै भ्रम रहेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

बर्लिनमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरू आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो । जर्मनी मात्रै नभएर युरोपका अरू शहरहरूमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ । लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको हो ।