जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिँदा अन्तर्राष्ट्रिय उडानसहित २०९ वटा उडान प्रभावित/रद्द भएका छन्।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार अनाक क्राकाटाउमा शुक्रबार रातिदेखि निरन्तर ज्वालामुखीय गतिविधि देखिएको थियो। विस्फोटबाट निस्किएको खरानी वायुमण्डलमा फैलिँदै गएपछि आइतबार बिहान विमानस्थल आसपासको आकाशमा समेत खरानीको प्रभाव देखिएको थियो। त्यसपछि हवाई सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको हो।
प्रारम्भमा विमानस्थललाई बिहान ५ः३० बजेसम्म बन्द गर्ने योजना रहे पनि खरानीको जोखिम कायम रहेपछि सञ्चालन रोक्ने समय बिहान ९ः३० बजेसम्म बढाइएको थियो। पछिल्लो अवस्थाअनुसार पुनः सञ्चालन समय दिउँसो १ः३० बजेसम्म सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ज्वालामुखीबाट निस्किएको खरानी सुमात्राको लाम्पुङदेखि जाभाको बान्टेन तथा आसपासका क्षेत्रमा फैलिएको छ। खरानीका कारण दृश्यता तथा वायु गुणस्तरमा असर पर्नुका साथै स्थानीय बासिन्दालाई आँखामा जलनलगायत समस्या देखिएको बताइएको छ। केही क्षेत्रमा विद्यालयका गतिविधि तथा माछा मार्ने कार्यसमेत सावधानीस्वरूप रोकिएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ सिंगापुर, हङकङ, सिड्नी, एम्स्टर्डम, सियोल, दोहा र क्वालालम्पुर लगायतका गन्तव्यसँग जोडिएका उडानहरू पनि प्रभावित भएका छन्। विमान कम्पनीहरूले यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्था जाँच गरेर मात्र विमानस्थल जान आग्रह गरेका छन्।
यसैबीच इन्डोनेसियाका विपद् व्यवस्थापन अधिकारीहरूले हाललाई सुनामीको तत्काल जोखिम नरहेको बताएका छन्। तर ज्वालामुखी गतिविधि जारी रहेकाले सम्बन्धित निकायले अवस्था निरन्तर निगरानी गरिरहेका छन्।




















