अष्ट्रेलियाको मेलबर्नमा काठमाडौँको झल्को दिने ‘इन्द्रजात्रा’को तयारी हुँदै।

अष्ट्रेलिया := अष्ट्रेलियाको मेलबर्नमा नेवारी संस्कृति र सभ्यता झल्किने ऐतिहासिक पर्व ‘इन्द्रजात्रा (येँयाः पुन्हि) २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ। नेवाः गुठी भिक्टोरियाको आयोजनामा आगामी सेप्टेम्बर २६ मा आयोजना गर्न लागिएको उक्त जात्रामा यस वर्ष ९ हजारभन्दा बढी दर्शक तथा श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।

​गत वर्ष ६ हजारभन्दा बढी नेपाली तथा स्थानीय अष्ट्रेलियाली नागरिकले अवलोकन गरेको यस जात्राप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आयोजक नेवाः गुठी भिक्टोरियाले यस वर्ष जात्रालाई अझ विस्तृत र भव्य बनाउने तयारी गरेको छ।

​यस पटकको जात्रामा इन्द्र भगवान्‌को विशेष प्रतिमा रहनेछ भने नयाँ आकर्षणका रूपमा गणेश रथ थप गरी निर्माण गरिएको छ। यसका साथै जीवित देवी कुमारीको परम्परागत रथ यात्रा, श्वेत भैरव, मजिपाः लाखे र परम्परागत हात्ती ‘पुलू किसी’ को प्रदर्शन समेत जात्राका मुख्य आकर्षण रहनेछन्।

​नेपाली मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त उत्सवमा धिमेसहितका परम्परागत नेवारी बाजागाजा, सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। कार्यक्रम स्थलमा मौलिक नेवारी परिकारका स्टलहरू र पारिवारिक मनोरञ्जनका गतिविधिहरूसमेत समावेश गरिने आयोजकले जानकारी दिएका छन्।

​काठमाडौँको ऐतिहासिक इन्द्रजात्राको झझल्को दिने गरी आयोजना गर्न लागिएको यस कार्यक्रमले प्रवासी नेपालीलाई आफ्नो मूल संस्कृतिसँग जोड्नुका साथै बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली पहिचान र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

​शनिवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने उक्त जात्रामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।