केनोशा । अमेरिकाको केनोशा शहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुईजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । एजेन्सीका अनुसार प्रदर्शनकारीकै क्रममा एक व्यक्ति भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुईजनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
विस्कन्सिन राज्यको केनोशा शहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई गोली प्रहार गरेका थिए । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन । यसैबीच एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ ।
ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौं शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौं व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ । विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले आपत्कालको घोषणा गर्नुभएको छ ।
केही महिनाअघिमात्र अमेरिकाको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको ज्यान गएपछि अश्वेत अमेरिकीमाथि प्रहरीको विभेदपूर्ण शैलीलाई लिएर अमेरिकाभर प्रदर्शन भएको थियो ।




















