सिड्नी । अष्ट्रेलियाको क्वान्टास एयरवेजले २५ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । ब्यागेज सम्हाल्ने र सरसफाइलगायत ग्राउण्ड हृयाण्डलिङका कामका लागि कम्पनीले अब अष्ट्रेलियाका दशवटै मुख्य विमानस्थलमा तेस्रो पार्टीको ‘स्पेसलिस्ट’ टोलीलाई जिम्मेवारी दिने बताएको छ । यो काम पहिले क्वान्टासका २५ सय कर्मचारीले गर्दै आएका थिए । तर, यतिबेला २२० भन्दा बढी विमान ग्राउण्डेड अवस्थामा रहेको हुँदा कर्मचारीहरू बिना काम बस्न बाध्य भएका थिए ।
एजेन्सीका अनुसार यसअघि क्वान्टसले कोभिड महामारीका कारण दुई दशमलव सात अर्बको घाटा व्यहोर्नुपरेको र आम्दानीमा पनि ९१ प्रतिशत, चार अर्ब बराबरको गिरावट भएको घोषणा गरेको थियो । त्यसैले ग्राउण्ड हृयाण्डलिङको काममा लागत कटौती गर्न यस्तो गर्ने योजना बनाइएको कम्पनीको भनाइ छ । साथै यसका कारणले एयरलाइन्स पाँच वर्षसम्म १० करोड अष्ट्रेलियन डलर बराबरका उपकरणहरू खरिद गर्नबाट जोगिनेछ ।
गत जुनमै क्वान्टसले महामारीको प्रभाव स्वरूप ६ हजार कर्मचारी हटाउनुपर्ने हुनसक्छ भनी खबर गरेको थियो । यसले क्वान्टासमा रोजगारी गुमाउनेको दर ३० प्रतिशत बनाइदिनेछ । यसरी ग्राउण्ड हृयाण्डलिङ तेस्रो पार्टीलाई सुम्पिनुलेमात्र पनि एयरलाइन्सलाई वार्षिक १० करोड अष्ट्रेलियन डलर बचत गराउने क्वान्टसका डोमेस्टिक अपरेसनका प्रमुख कार्यकारी एन्ड्रयु डेभिडले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘माग कम भइरहेका बेला यही उपाय सबैभन्दा फाइदाजनक हुने हाम्रो निष्कर्ष छ । हाम्रो स्रोतसाधन प्रयोग गरी बाहिरी पार्टीले एयरक्राफ्टलाई ४० प्रतिशत कम मूल्यमा सञ्चालन गर्नेछ ।’
हवाई क्षेत्रका लागि अहिलेको समय इतिहासकै चुनौतीमय भएकाले पनि एयरलाइन्सहरूले लामो समयसम्म आफूलाई जीवित राख्न सञ्चालनको तरिका बदल्नैपर्ने डेभिड बताउनुहुन्छ । अहिले देशभित्रै विमानले केबल २० प्रतिशत क्षमतामात्र पूरागरी उडान भरिरहेको र अन्तर्राष्ट्रिय उडान पुनः पहिलेको अवस्थामा पुग्न वर्षौं लाग्नसक्ने हुनाले आर्थिक रूपमा भार उठाउन अत्यन्तै कठिन भएको उहाँले बताउनुभएको छ । त्यस्तै उहाँले यो खबर पहिले बिना काम बसिरहेका कर्मचारीका लागि झन् कठिन हुने स्वीकार गर्नुभएको छ ।
तर, एयरलाइन्सले प्रभावित कर्मचारीलाई क्वान्टासभन्दा बाहिर काम लगाइदिने वा विभिन्न क्षतिपूर्तिका प्याकेजहरू प्रदान गर्ने प्रावधान मिलाइएको दाबी गरेको छ । हाल क्वान्टसका २० हजारभन्दा बढी कर्मचारी बिना काम बसिरहेको बताइएको छ ।




















