विराटनगर । कोरोनाले मुलुक थलिएको सात महिना भयो, पहिलो चरण दोस्रो चरणको लकडाउनपश्चात् मुलुक निषेधाज्ञातर्फ धकेलिएको छ । हरेकका मनमा अब के होला भन्ने प्रश्नचिन्हले डामेको छ । विश्वभरका भयावह खबरले तर्साइरहँदा हाम्रो जस्तो विकासोन्मुख मुलुक अझै त्रसित छ । यसले अर्थतन्त्रसहित अन्य क्षेत्रमा पार्ने प्रभावलाई एकैछिन बिर्सिदिँदा दैनिक ज्याला गरेर बिहान बेलुकाको चुलो बाल्ने वर्गलाई कस्तो समस्या भइरहेको होला अनुमान लगाउन कठिन छैन । अत्यन्तै नाजुक आर्थिक अवस्थामा भएकाहरूलाई छाक टार्ने समस्याले सताइरहेको छ । उनीहरूले रोग र भोकको भयावह अवस्थालाई एकैपटक सामना गर्नुपरेको छ । यस्तै अवस्थाका तड्पिएका व्यक्तिहरूको समस्यालाई मध्यनजर गरी केही रचनात्मक र सराहनीय प्रयास पनि भइरहेका छन् ।
कुरा हो मोरङ केराबारी तरुणदलमा आबद्ध युवाहरूले गरेको एउटा प्रयासको । ज्यालादारी गरेर गुजारा चलाउने र बेखर्ची मानिसहरूलाई भोकभोकै मर्नु नपरोस् भनेर उनीहरू समस्याको गर्जो टार्न तम्सिरहेका छन् । त्यही भएर ‘हुनेले दिएर जाने, नहुनेले लिएर जाने’ भन्ने यस खाद्यान्न बैंक अभियानले धेरैको घरमा चुलो बालिरहेको छ । भित्तामा लेखिएअनुसार यस अभियानमा हुनेले नहुनेलाई सहयोग गर्दै आइरहेका छन् ।
‘दैनिक बिहान एक घण्टा यो खाद्यान्न बैंक खुल्ने गर्दछ, नहुनेहरू लाइन लागि चामल, नुन, तेल, दाल, जसलाई जे खाँचो छ त्यही लिएर जान्छन् । ‘यो दुःखद घडीमा केही नहुनेका लागि थोरै भए पनि होस् भन्ने सोचले यो अभियान सुरु गरेको हो ।’ तरुणदल केराबारीका अध्यक्ष पप्पु साह भन्नुहुन्छ । राहत बाँड्दा प्रायः वास्तविक पीडित छुट्याउन गाह्रो भएकाले यो टिमले थोरै सामग्रीजस्तै दुई केजी पोका चामल, दाल, तेल सोयाविन राख्ने गरेका छन् । ताकि राहत वास्तवमै केही नहुनेहरूको हातमा मात्र परोस् । पहिलो चरणको लकडाउनमा पनि यो टिमले राहात वितरण गरेको थियो । त्यसपछि १० दिन मास्क बैंक अनि फुड बैंक अर्थात् खाद्यान्न बैंक । ६ गतेबाट सञ्चालनमा आएको यस फुड बैंकलाई १०÷१५ जनाको समूले भौतिक दूरी कायम गरी सुरक्षित तरिकाले चलाइरहेका छन् । बिहीबारसम्म ५०० बढी परिवारले यस फुड बैंकबाट सेवा लिइरहेको उनीहरूको भनाइ छ । एकैठाउँ चोकमा राखी सञ्चालनमा आएको यस फुड बैंकमा भिडभाड बढेकाले छैटौँ दिनमा आइपुग्दा वडा–वडामा राख्न सुरु गरिएको छ । ‘प्रत्येक दिन फरक–फरक वडामा राख्दा भिडभाड पनि कम हुने अनि सबैको पहुँचमा पुग्ने भएकाले यसो गरिएको हो ।’ साहले भन्नुभयो । फुड बैंकको प्रशंसा मात्रै हैन अहिले चौतर्फी सहयोग पनि उठ्न थालेको छ ।
यसैगरी सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा पनि ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न संकलन गरिरहेका छन् ।
‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०÷१२ सम्मले खाद्यन्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको गुप्ताले बताउनुभयो ।




















