चिया तथा कफी खेतीतर्फ आकर्षण बढ्दै

पाँचथर । परम्परागत खेती छोडेर पछिल्लो समय पाँचथरका कृषकहरू नगदबालीको रूपमा रहेका चिया तथा कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमा रहेको बाँझो जमिनको सदुपयोग गर्दै कृषकहरू कफी खेती र चिया खेतीतर्फ आकर्षित भएका हुन् । 

मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष तथा चियाउद्यमी सन्तोष शेर्माले भन्नुभयो, ‘अहिले गाउँघरका जमिनहरू जनशक्ति नभएर बाँझिन थालेका छन्, काम गर्ने अधिकांश युवाहरू विदेशिएका छन्, पाँखो बारी बाँझिएको छ, जसका कारण पनि अहिले घरमै भएका युवा तथा परिवारले चिया तथा कफी खेती गर्न थालेका छन् ।’ यस्तै स्थानीय महेश भट्टराईले भन्नुभयो, ‘खेतबारीमा धान, मकै, कोदो लगाउनुभन्दा चिया लगाउनु फाइदा छ, त्यही भएर परम्परागत खेती छोडेर अहिले घरवरिपरि चिया लगाएका छाँै ।’

यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समेत नीति बनाएर प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको उहाँले सुझाउनुभयो । यस्तै यस वर्ष मात्रै तुम्बेवा गाउँपालिकाले ६३ हजार कफीको विरुवा कृषकलाई निःशुल्क प्रदान गरेको छ । 

पालिका अध्यक्ष होमनाथ थापाले भन्नुभयो, ‘सुख्खा क्षेत्र रहेको यस तुम्बेवा गाउँपालिकामा पानीको अभावकै कारण धेरै परिवारहरू बसाइँसराइ गरेर तराई झर्ने गरेका छन्, बसाइँसराइ रोक्न तथा बाँझो जमिनको सदुपयोग गर्न भनेर हामीले अहिले पालिकाका अधिकांश वडाहरूमा कफीको विरुवा रोपण गरेका हौँ ।’

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिका–६ स्थित कुवापानी कफी इस्टेट एण्ड रिसर्च सेन्टरले एक हजार ५०० कफी विरुवा रोपण गरेको छ । यस्तै हिलिहाङ–७ स्थित पौरखी चिया तथा कफी समूहले तीन हजार विरुवा रोपण गरेको छ । यस्तै गत आर्थिक वर्ष ०७६÷०७७ मा मात्रै पाँचथरमा ७२० हेक्टर क्षेत्रफलमा चिया तथा १५१ हेक्टरमा कफी लगाइएको छ । 

गत आर्थिक वर्षमा मात्रै पाँचथरमा दुई लाख २० हजार ८३४ केजी हरियो चियापत्ति उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत रहेको चिया तथा कफी विस्तार आयोजना लालीखर्कका प्रमुख प्रेम थिङले बताउनुभयो ।