सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ क्याम्पस चौकमा विगत सात दिनदेखि एक अनाथ महिला बेवारिसे अवस्थामा रहनुभएको छ । आफ्नो घर धनुषाधामको जनकपुर बताउने महिला विगत सात दिनदेखि क्याम्पस चौकको रोडपेटीमा बस्दै आउनु भएको छ ।
उहाँको दाहिने खुट्टामा गहिरो चोट लागेको देखिन्छ । चोटकै कारण हिँड्डुल गर्न कठिनाई भएको देखिन्छ । अन्दाजी ३५ ÷४० वर्षीया महिलाको समयमा उपचार नभएकोले खुट्टाको घाउमा औंशसमेत परेकाले उपचार भए चोट ठिक हुने देखिन्छ । घाउकै कारण हिँड्डुल गर्न नसकेको उहाँको स्वीकारोक्ति छ ।
कोरोना महामारीबिच घर आसपासमा यसरी बेवारिसे बिरामी आएर बस्दा स्थानीय त्रसित भएका छन् । अरु समयमा दुखी दरित्रको सेवा गर्न आतुर देखिनेहरु पनि अहिले कोरोना संक्रमणको जोखिमसँगै तर्सिने गरेका छन् ।
आफ्नो घरछेउमा आएर बसेकी एक अनाथ नारीलार्ई भोकै राखेर आफूले कसरी खानु ! कतै खाना दिन जाँदा ती महिलामा संक्रमण रहेछ भने सर्ने पो होकी ! त्रासमा स्थानीयहरु रहेका छन् ।




















