उपप्रधानमन्त्री पोखरेलको खण्डनः मेरो कारण कुनै नातेदारले अनुचित लाभ लिएका छैनन्

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफूले पदीय हैसियतको दुरूपयोग गरी कुनै पनि नातेदारलाई पद नदिलाएको दाबी गर्नुभएको छ  । उहाँले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गर्नुभएको हो । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्र कोइराला नियुक्त भएपछि प्रकाशित प्रशारित समाचारप्रति खण्डन गर्दै पोखरेलले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको हो । 

पोखरलले लेख्नुभएको छ ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन’, उहाँले अगाडि भन्नुभएको छ, ‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहीँकतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’

रक्षामन्त्री पोखरेलले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’  भनी कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाहीशासनका तिनै मतियारसमेतले नयाँ ढंगले आफ्नाविरूद्ध उचालिरहेको उल्लेख गर्नुभएको छ ।