कोमामा रहनुभएको भनिएका नेता किम सार्वजनिक कार्यक्रममा सहभागी

प्योङयाङ । गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी हुनुभएको छ । केही सञ्चारमाध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर प्रकाशित गरेका थिए । 

पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीलाई देशमा कोरोना भाइरसको महामारीका हुनसक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन भन्नुभएको छ । यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुनसक्ने भन्दै उहाँले सचेत बनाउनुभएको छ । 

उत्तर कोरियामा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको बताएको छ । तर नेता किमले कोरोना भाइरसको संक्रमण फैलिन सक्नेतर्फ सचेत गराउनुभएको हो । यस्तै यो हप्ताको अन्त्यतिर समुद्री तुफानले जनजीवन प्रभावित हुने पूर्वानुमान छ ।

केही दिनअघिमात्रै आफ्नी बहिनीलाई बढी अधिकार प्रत्यायोजन गरेपछि किम एकाएक कोमामा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका थिए । दक्षिण कोरियाका स्वर्गीय नेता किम डे जंगका पूर्वसहयोगी चांग सांन्ग मिनले किम जोङ कोमामा गएको विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएपछि नेता किमलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको थियो । 

यसअघि पनि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो । तर, उहाँ अचानक सबैको अगाडि स्वस्थ रूपमा देखा पर्नुभएको थियो । किमले पार्टीको कार्यक्रममा आफ्नो उपस्थिति जनाएको तस्वीर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेको हो । उक्त तस्वीरमा नेता किम पार्टीका नेताहरबीच प्रसन्न मुद्रामा कुरा गरिरहेको देखिएको छ ।