मकाउमा एक बालिकाको यौन भिडियो एकअर्कालाई पठाएको अभियोगमा ११ नेपाली युवा पक्राउ।

एजेन्सी := कम उमेरकी एक बालिकाको यौन भिडियो एक एपको प्रयोग गरी एक अर्कालाई शेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको अभियोगमा रोजगारीको निम्ति मकाउमा बसोबास गर्दै आईरहेका ११ जना नेपाली युवाहरु पक्राउ परेका छन्।

पक्राउ परेका सबै नेपाली युवाहरु विभिन्न फरक फरक कम्पनीमा सुरक्षागार्ड (security guard) को रुपमा काम गर्ने त्यहाँको टिडिएम टेलिभिजन (TDM channel) मकाउले आफ्नो समाचारमा जनाएको छ।

पक्राउ परेका नेपालीहरुले आफूहरुले उक्त अश्लील भिडियो शेयर गरेको स्वीकार गरेका छन् । उनीहरुले यसबाट कुनै प्रकारको लाभ लिएको आरोप भने अस्वीकार गरेका छन् । रिपोर्टका अनुसार एक एपमार्फत बालिकाको अश्लील भिडियो शेयर भइरहेको पाइएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले मकाउ प्रहरीलाई यसबारे कारवाही अघि बढाउन भनेको थियो।

यसरी उमेर नपुगेका बालबालिकाको यौनजन्य भिडियो हेर्नु र शेयर गर्नु पनि मकाउ देशको कानुन अनुसार अपराध मानिन्छ । अन्य कैयौं देशमा पनि ‘चाइल्ड पोर्नोग्राफी’लाई गम्भीर अपराधको श्रेणीमा राखिएको छ।