म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धौलागिरी गाउँपालिका–१ गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रा पछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन् ।
ढोरपाटन शिाकार आरक्षको घुस्तुङ ब्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुई ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । अग्ला पहाडको बीचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन, र आसपासमा समथर भुभागमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको गूर्जाको वार्मीपार्मी र बराह ताल प्रचारप्रसारको पर्खाइमा छन् ।
समुन्द्री सतहदेखि करिव ४ हजार ५ सय मिटर उचाइमा अवस्थित म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारी सहित कर्मचारीहरू पुग्ने गर्दछन् ।
मौसम अनुसार वार्मीपार्मी र बराहमा पानीको रङ्ग फेरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको गूर्जाका स्थानीय समाजसेवी केआईसिङ छन्त्यालले बताउनु भयो । ‘तालसम्म पुग्नै गा¥यो छ,‘पहाडभित्र लुकेका तालको धार्मिक महत्व छ’ छन्त्यालले भन्नुभयो ।
उहाँका अनुसार गाउँबाट गोठ लिएर उक्त क्षेत्रतर्फ जाने गरिएपनि पछिल्लो समय स्थानीयको आवतजावतमा कमी आएको छ । गूर्जाबासीले दशकै अगाडी आवतजावत गर्ने उक्त स्थानबाट चुरेन हिमाल नजिकै देखिन्छ ।
जंगली जनावर थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चल जंगली जनावर पाखामा चर्ने गरेको दृष्यले त्यहाँ पुग्नेलाई लोभ्याउने हेलिकप्टरबाट त्यहाँ पुगेका मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् एनआरएनए अमेरिकाका सदस्य अमर छन्त्यालले बताउनु भयो ।
‘पशुचौपायाको गोठ लिएर यहाँसम्म आउने गरिन्थ्यो,‘ हेपुडाँर्डा रुकुमबासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यम समेत हो’ छन्त्यालले भन्नुभयो । उहाँकाअनुसार अत्याधिक जंगली जनावरहरू पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्षकै प्रख्यात स्थल समेत रहेको बताउनुभयो ।
गूर्जा गाउँदेखि स्थानीय निकै कठिनका साथ पहिलो दिन मनसुङ भन्ने ठाउँमा बास बसेर अर्को दिन यहाँ पुग्न सक्छन भने केहीलाई भने तीनदिनसम्म लाग्ने गरेको धौलागिरी गाउँपालिकका प्रबक्ता समेत रहेका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
‘ग्रामिण पर्यटनका लागि सुन्दर स्थान हो,‘बस्तीबाट धेरै टाढा जंगली जनावरलाई आँखै अगाडी देख्न सकिने स्थान हो’ वडाअध्यक्ष छन्त्यालले भन्नुभयो । उहाँले बाटोको असहजताले गर्दा यसको संभावना हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे । आरक्षबाट बन्दुक, गोलीगट्ठा र सहयोगी सहित शिकारी आएर यस क्षेत्रमा बस्ने गर्दछन् । खर्चिलो र सहसी शिकारीहरूले विदेशमा दुईवटै तालको प्रचारप्रसार समेत गर्ने गरेको बताउनुभयो ।
नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, बन्यजन्तु जस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
कसरी पुग्ने तालसम्म ?
देशका विभिन्न जिल्लाबाट यातायातका साधनको प्रयोग गरी बेनीमा आउन सकिन्छ ।
दोस्रो दिन यातायाताको साधनम बेनी नगरपालिका, मंगला, मालिका हुदै धौलागिरी गाउँपालिकाको लुलाङमा बास बस्न सकिन्छ । लुलाङको लम्सुङमा बास बसेर तेस्रो दिन लम्सुङबाट पैदल यात्रा मार्फत धना जंगल हुदै करिव ८ घण्टाको यात्रामा गुर्जा गाउँमा पुग्न सकिन्छ ।
चौथो दिन आसपासका क्षेत्रमा रहेका जंगल र लामो यात्राको योजना सहितको पहिलो दिन मनसुङ भन्ने स्थानमा बास बसेर दोस्रो दिन यहाँसम्म पुग्न सकिन्छ । यस स्थानबाट रुकुम जिल्लाको चालुखे भन्ने ठाउँमा पुग्न सकिन्छ । त्यहाँबाट दोगानी,डोवान हुदै लम्सार भन्ने ठाउँमा प्रमुख आयश्रोत मानिने यार्सागुन्बु पाइन्छ । तत्कालिन समयमा रुकुमबासीसँगको सहकार्यमा धेरैपटक गूर्जाबाट यसमार्ग हुदै रुकुम गएका छन् ।
हिउँ पग्लिएर बाटोमा आवतजावतमा समेत समस्या हुने गरेको दुईपटक त्यस क्षेत्रमा पुगेका हाल पोर्चुगल रहेका चित्र छन्त्यालले बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्न सकिने दुईवटै ताल ओझेलमा परेको बताउनुभयो । उनले अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले आश्चर्यजनक गन्तब्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उक्त तालसम्म पुग्न ज्यानको बाजी राखेर समेत यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पहिलोपटक गुर्जा जानेलाई पश्चिम म्याग्दीको रुट नै सहज हुन्छ । गुर्जा एउटा सहासिक पदयात्राका लागि समेत प्रख्यात मानिन्छ ।




















