क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) को सरकारी लोगो तथा दिशासूचक बत्ती जडान गरिएको सवारीसाधनसम्बन्धी भाइरल भिडियोपछि गरिएको विशेष कारबाहीमा पाकिस्तानी नागरिकसहित ११ जना विदेशी नागरिक पक्राउ परेका छन्।
अध्यागमन विभागका अनुसार अगस्ट ९ तारिख क्वालालम्पुरको सेतापाक र जालान कुचिङ क्षेत्रमा गरिएको कारबाहीका क्रममा भाइरल भिडियोमा देखिएका एक पाकिस्तानी पुरुषलाई पक्राउ गरिएको हो। उनको परिसरमा गरिएको खानतलासीका क्रममा इन्डोनेसियाली नागरिकका दुईवटा पासपोर्ट समेत फेला परेको विभागले जनाएको छ।
सोही क्रममा मलेसियामा बस्न पाउने अनुमति अवधि सकिएपछि पनि बसिरहेको अवस्थामा एक इन्डोनेसियाली महिलालाई समेत पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा जालान कुचिङस्थित एक कार धुने केन्द्रबाट चार बंगलादेशी, तीन पाकिस्तानी र एक भारतीय नागरिक गरी थप आठ जना पक्राउ परेका छन्।

सोही स्थानबाट सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखाइएको Toyota Hilux पनि अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सवारीसाधनका पाकिस्तानी मालिकले व्यक्तिगत प्रयोजनका लागि मलेसियाको अध्यागमन विभाग (JIM) को लोगो र दिशासूचक बत्ती जडान गरेको स्वीकार गरेका छन्।
उनले उक्त सवारीसाधन कुनै आधिकारिक कामका लागि प्रयोग नगरेको दाबी गर्दै यस्तो कार्य कानुनविपरीत भएको आफूलाई जानकारी नभएको बताएका छन्। अध्यागमन विभागका अनुसार भाइरल भएको भिडियो अप्रिल २०२५ मा खिचिएको थियो। उक्त भिडियो पक्राउ परेका व्यक्तिकी श्रीमतीले अगस्ट ७, २०२६ मा आफ्नो WhatsApp स्टाटसमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि मलेसियाको पासपोर्ट ऐन १९६६ तथा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत थप अनुसन्धान भइरहेको छ। अध्यागमन विभागले सरकारी लोगो, पहिचान तथा आधिकारिक उपकरणको दुरुपयोग गरी सर्वसाधारणलाई भ्रममा पार्ने कुनै पनि गतिविधिलाई गम्भीर रूपमा लिइने जनाएको छ। विभागले कानुन उल्लंघन गर्ने यस्ता गतिविधिविरुद्ध कडा कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।




















