क्वालालम्पुर (मलेसिया):= नेपाली जनसम्पर्क समिति मलेसियाको छैटौँ बैठक संगठनका विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। बैठक सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा सम्पन्न भएको हो।
बैठकले संगठनका गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र गतिशील बनाउने उद्देश्यले विभिन्न जिम्मेवारीसमेत तोकेको छ। बैठकबाट गणेश क्षेत्रीलाई प्रवक्ता तथा तिलोचन गौतमलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको महामन्त्री सरोज दाहालले जानकारी दिएका छन्।

बैठकमा संगठनको आगामी कार्यदिशा, गतिविधि तथा मलेसियामा रहेका प्रवासी नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। नेपाली समुदायका समस्या, आवश्यकता र सरोकारका विषयमा थप सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता बैठकले जनाएको छ।

संगठनलाई अझ सुदृढ, सक्रिय र प्रभावकारी बनाउँदै प्रवासी नेपाली समुदायको हितमा काम गर्ने तथा आगामी दिनमा संस्थागत गतिविधिलाई थप व्यवस्थित रूपमा अगाडि बढाउने विषयमा पनि बैठकले जोड दिएको छ।



















