अवैध हुन्डी कारोबारबाट टाढा रहन नेपाली दूतावासको अपिल, सूचना दिन आग्रह।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई अवैध हुन्डी कारोबारबाट टाढा रहन विशेष अपिल गरेको छ। दूतावासले श्रमिकहरूले आफ्नो रगत–पसिना बगाएर कमाएको रकम सुरक्षित रूपमा नेपाल पठाउन बैंक तथा आधिकारिक रेमिट्यान्स कम्पनीको मात्र प्रयोग गर्न आग्रह गरेको हो।

दूतावासले आफ्नो नियमित साप्ताहिक फेसबुक लाइभ कार्यक्रममार्फत अवैध हुन्डी कारोबार रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर पहल भइरहेको जानकारी दिएको छ। हुन्डीजस्ता अनधिकृत माध्यमबाट रकम पठाउँदा आर्थिक तथा कानुनी दुवै किसिमका जोखिम बढ्ने भन्दै दूतावासले श्रमिकहरूलाई सचेत रहन आग्रह गरेको छ।

दूतावासका अनुसार मलेसियामा कसैले अवैध रूपमा हुन्डी कारोबार गरिरहेको जानकारी वा प्रमाण प्राप्त भएमा दूतावासमा उपलब्ध गराउन सकिनेछ। यस्तो सूचना वा प्रमाण उपलब्ध गराउने व्यक्तिको सुरक्षा र गोपनीयतालाई विशेष प्राथमिकता दिइने जनाउँदै दूतावासले सूचना दिने व्यक्तिको नाम, परिचय तथा व्यक्तिगत विवरण पूर्ण रूपमा गोप्य राखिने आश्वासन दिएको छ।

अवैध हुन्डी कारोबारमा संलग्न हुने र गराउने दुवै पक्षलाई कानुनी दायरामा ल्याउन दूतावासले सम्बन्धित निकायसँग समन्वय गर्दै सक्रियता बढाएको जनाएको छ।

दूतावासले हुन्डी एजेन्टमार्फत रकम पठाउँदा ठगीको जोखिम अत्यधिक हुने र पठाएको रकम नै गुम्न सक्ने चेतावनी दिएको छ। आधिकारिक बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत रकम पठाउँदा कारोबारको अभिलेख रहने, रकम सुरक्षित हुने र आवश्यक परेको अवस्थामा कानुनी तथा संस्थागत सहयोग लिन सहज हुने दूतावासको भनाइ छ।

मलेसिया र नेपाल दुवै देशको कानुनी व्यवस्थाअनुसार अवैध हुन्डी कारोबारमा संलग्न हुनु गम्भीर कानुनी विषय भएकाले यसबाट श्रमिकहरू जेल सजाय, जरिवाना तथा अन्य कानुनी झमेलामा पर्न सक्ने दूतावासले सचेत गराएको छ।

विदेशमा दुःख गरेर कमाएको रकम सुरक्षित रूपमा परिवारसम्म पुर्‍याउन ‘आधिकारिक माध्यमबाट मात्र रेमिट्यान्स पठाऔँ, अवैध हुन्डी कारोबारलाई निरुत्साहित गरौँ’ भन्ने सन्देशसहित दूतावासले मलेसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।