गोपालमान श्रेष्ठको राजनीतिक आदर्श नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ : जनसम्पर्क समिति मलेसिया।

क्वालालम्पुर:= नेपाली कांग्रेसका वरिष्ठ नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व स्वर्गीय गोपालमान श्रेष्ठको १३औँ पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जली सभा आयोजना गरि सम्पन्न गरेको छ।

आईतवार आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीलगायत पदाधिकारी तथा सदस्यहरूले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नेपाली कांग्रेसको संगठन निर्माण, लोकतन्त्रको संरक्षण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए।

श्रद्धाञ्जली सभामा सहभागीहरूले श्रेष्ठको राजनीतिक जीवन लोकतान्त्रिक मूल्य, निष्ठा, त्याग र जनसेवाप्रतिको समर्पणले प्रेरित रहेको चर्चा गर्दै उहाँले देखाउनुभएको राजनीतिक आदर्श र लोकतान्त्रिक मार्गदर्शनलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। लोकतन्त्र र जनअधिकारका लागि उहाँले पुर्‍याएको योगदान नेपाली कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहने उनीहरूको भनाइ थियो।

सभापती पंगेनीले स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको राजनीतिक निष्ठा, त्याग र लोकतान्त्रिक आदर्श वर्तमान पुस्ताका लागि समेत प्रेरणाको स्रोत रहेको बताउनुभयो। उहाँले श्रेष्ठले देखाएको राजनीतिक बाटो र आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको लोकतान्त्रिक अभियानलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसै अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाका सहमहामन्त्री रामकुमार यादवकी ममतामयी माता स्वर्गीय लरुदेवी यादवप्रति समेत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

लरुदेवी यादवको निधनप्रति नेपाली जनसम्पर्क समिति मलेसियाले शोक व्यक्त गर्दै यादव परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ। सभामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।

नेपाली जनसम्पर्क समिति मलेसियाले स्वर्गीय गोपालमान श्रेष्ठ तथा स्वर्गीय लरुदेवी यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदान, स्मृति र आदर्शप्रति उच्च सम्मान व्यक्त गरेको छ।