राजेशले ६ सय प्राविधिकको कोरोना बीमा गरिदिने

काठमाडौं । अभिनेता राजेश हमालले कोरोना माहामारीको समयमा फिल्म प्राविधिकको कोरोना बीमा गरिदिने हुनु भएको छ । उहाँले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सयजना प्राविधिकको बीमा गर्न लाग्नु भएको हो ।

उहाँले कोरोना बीमाका लागि प्राविधिकहरूको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिनुभयो । केही दिनमा संघका पदाधिकारीको बैठक बस्दैछ ।

सोमबार अभिनेता हमालले आर्थिक अवस्था कमजोर रहेका सयजना प्राविधिकलाई ५ हजार रुपैयाँले आर्थिक सहयोग गर्ने खबर बाहिर आएको थियो । यस विषयमा लामा भन्नुहुन्छ, ‘निषेधाज्ञाभन्दा अगाडि राजेश दाईले सयजना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । हामीले कोरोना बीमाका लागि आग्रह गरेपछि उहाँ सहमत हुनुभयो ।’

उहाँका अनुसार, अभिनेता हमालले ६ सयको कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने वचन दिनुभएको छ । केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रूपमा ६ सयजना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने उपाध्यक्ष लामाले बताउनु भएको छ ।