शर्माको दाहसंस्कार सम्पन्न,कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त

न्यूयोर्क। नेपाली जनसम्पर्क समिति,अमेरिकाकी पूर्व महिला विभाग प्रमूख स्वर्गीय प्रभाव शर्मा भण्डारीको शनिवार दाहसंस्कार गरिएको छ। शुक्रवार राती निधन भएकी शर्माको पार्थिव शरीरमा उहाँका छोरा डाक्टर रितेश शर्माले वैदिक परम्परा अनुसार दागबत्ती दिनुभएको थियो । न्यूजर्सीको एक शवदाह गृहमा आज दिउँसो नेपाली समुदायका सदस्यहरुका बीच शर्माको दाहसंस्कार सम्पन्न गरिएको नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ।

दाहसंस्कार पूर्व शर्माको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धान्जलीका लागि न्यूयोर्कमा राखिएको थियो। सोही क्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट,कांग्रेस महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका संगठन विभाग प्रमूख वेदप्रसाद खरेल र समितिका सल्लाहकार कृष्ण विष्ट,समितिका न्यूयोर्क च्याप्टरका सचिव अनिल पाण्डेलगायतले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाई श्रद्धान्जली व्यक्त गर्नुभएको थियो । श्रद्धान्जली दिन न्यूयोर्कस्थित नेपाली समुदायका सदस्यहरुको सहभागिता रहेको थियो।

विगत १५ वर्षभन्दा पहिलेदेखि अमेरिकामा बसोवास गर्दै आउनु भएकी शर्मा एकवर्षभन्दा बढी समयदेखि न्यूयोर्कमा उपचाररत हुनहुन्थ्यो। पाठेघरको क्यान्सर रोगबाट पीडित ५६ वर्षीया शर्माको अन्तिम श्रद्धान्जली दिने क्रममा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य विष्ट, परिवारको तर्फबाट ज्वाईं दिपेश कंडेल,कांग्रेसका पूर्व महासमिति सदस्य वीरेन्द्र मानन्धर र महिलाहरुको तर्फबाट इन्दिरा विष्टले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शर्मा काँग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाकी भान्जी बुहारी हुन्। उपचारका क्रममा शर्मा पति रमेश शर्मा भण्डारी,छोरा रितेश र नव विवाहित बुहारीसंग बस्दै आएकी थिइन्। श्रद्धान्जली र अन्तिम दाहसंस्कारमा पति रमेश शर्मा भण्डारी,छोरा बुहारी,छोरी रिचा शर्मा कंडेल,ज्वाई दिपेश कंडेल,शर्मा दम्पतीका पारिवारिक नातेदार,नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक एवं एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसीलगायत कांग्रेस पार्टीमा आवद्ध सदस्यहरु,एनआरएन र अन्य संघसंस्थका सदस्यहरु सहभागी थिए।