ललीपप मात्र होइन, तराई-मधेसमा अब बज्छ हिपहप ! (ढाका-धोती भिडियो सहित)

“अब सुनल जा मधेसमा हिपहप कैसन होला”

साँच्चै तराई – मधेसमा हिपहप लोकप्रिय बनाउन के गर्नुपर्ला? सुरज क्षत्री र दीपक काहारबीच यही छलफल चल्थ्यो। लुम्बिनी नजिकैको रुद्रपुर हरैया बजारका उनीहरू हिपहप गायनमा सक्रिय छन्। दिनहुँको भेटमा गफको विषय हिपहप नै।

गाउने, बजाउने, हसल गर्ने क्रममा एक दिन दीपकले सुरजलाई नयाँ गीतका शब्दहरू देखाए। छलफल गरे। तराई-मधेसी समुदायको संस्कृति र भावना अभिव्यक्त गरिएको शब्द परिमार्जन गरे। शब्द पूरा चित्त बुझेपछि यी दुई युवा ‘बिट’ को खोजीमा लागे। शब्दको भावसँग मेल खाने बिटको संगीत अनलाइनमार्फत् फेला पारेपछि उनीहरूले गीत रेकर्ड गराए। सुरज र दीपक दुवैको स्वर र शब्दमा रेकर्ड भएको गीतको म्युजिक भिडिओ युट्युबमा अपलोड गर्ने बेला उनीहरूलाई नामको खाँचो भयो।

[ तराईको परम्परागत पोसाकमा सजिएका भिडियोमा खेलेका कलाकारहरु ]

दुवैले नाम फुराए, ढाका–धोती।

गत मंगलबार युट्युबमा अपलोड भएको ढाका–धोती अहिले सामाजिक सञ्जालको ट्रेन्डिङमा छ। युट्युबमा अपलोड भएको अफिसियल भिडिओमा मात्रै दुई हजारभन्दा बढी प्रतिक्रिया छ। अधिकांश प्रतिक्रिया सकारात्मक छन्।
अवधी भाषामा तराई-मधेसको पहिचान र सांस्कृतिक विविधतालाई सकारात्मक रूपमा प्रस्तुत गरिएको भिडिओमा सुरज र दीपक दुवै देखिन्छन्।

२७ वर्षे सुरज चार वर्षदेखि र २३ वर्षे दीपक डेढ वर्षदेखि एकल रूपमा हिपहप संगीतमा सक्रिय थिए। ढाका–धोती नामजस्तै सुरज क्षत्रीले पहाडी समुदायको र दीपक काहारले मधेसी समुदायको प्रतिनिधित्व गर्छन्। पहिलो कामबाट यसरी धेरैको प्रशंसा कमाउन सफल भएकामा उनीहरू दंग छन्।सुरज भन्छन्, ‘नयाँपनसहित अर्गानिक शैलीको हिपहप बनाएका थियौं। सबैले मनपराएको देखेर एकदमै खुसी लागेको छ।’

ढाका–धोतीको सफलताबाट उत्साहित बनेका दीपक भन्छन्, ‘मिहिनेत गरेका थियौं। त्यसकै फल पाएजस्तो भइरहेको छ।’ सुरजको भनाइमा, यो गीत गहिराइमा पुगेर लेखिएको साहित्य होइन। यसमा आफ्नो समाजको कुरा जसरी देखियो, जसरी भोगियो त्यसरी उतारिएको छ। सुरज र दीपकले भारतको बिहार र उत्तर प्रदेशमा चल्ने संगीतको प्रभावले मधेसलाई थिचेको महशुस गरेका थिए। ‘ललीपप लागेलु’ टाइपका गीत मात्र मधेसमा बज्छन् र सुनिन्छन् भन्ने धेरैलाई भ्रम छ। उनीहरू यही भ्रम तोड्न चाहन्थे।

‘ललीलप गीत मात्र होइन, मधेस अब हिपहप गाउन र सुन्न पनि तयार छ भन्ने हामी प्रमाणित गर्न चाहन्छौं,’ उनीहरूले भने, ‘त्यसैले गीतका शब्दमा पनि यो कुरा भनेका छौं।’ मधेसको आफ्नै संगीत उद्योग नभएको ठान्ने उनीहरू तराई-मधेसको भाषा र संस्कृतिलाई पनि युवा पुस्ताले मन पराएको हिपहपसँग जोड्न सकिन्छ भनेर यो गीत बनाएको बताउँछन्।यो गीत मनपराइनुलाई उनीहरू मधेसी हिपहपको पहिलो सफल खुड्किला मान्छन्। 

अवधी शब्द भए पनि मैथिली, भोजपुरी र खस बुझ्नेले समेत गीतको भाव टिप्न सक्ने खालको छ। शब्द नबुझ्नेलाई गीतको भिडिओले धेरै कुरा बुझ्न मद्दत गरिरहेको छ। मान्छेसँग छिट्टै ‘कनेक्ट’ होस् भनेर सरल शब्द राखिएको सुरज बताउँछन्। र, यही सरल भाषाले मान्छेलाई राम्रो लागिरहेको उनको अनुमान छ। पहिलो सहकार्यको छोटो अवधिमै सामाजिक सञ्जाल र फोनमा आउने प्रतिक्रियाबाट हौसिएका छन् उनीहरू। उनीहरूको गीत रूटिन अफ नेपाल बन्द पेजदेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत सेयर गरिसकेका छन्।

गीतको सफलताले उत्साहित उनीहरू भन्छन्, ‘ढाका-धोतीको दोस्रो भाग पनि लगभग तयार छ। दोस्रोमा, अवधी र खस भाषा पनि हुनेछ।’ गीतको म्युजिक भिडिओमा स्थानीय कलाकार र परिवेश प्रयोग गरिएको छ। गीतका शब्द अनुसार विभिन्न पहिरन, भेषवूषा, चाडपर्व र दैनिक जीवनका गतिविधिले सामाजिक विविधता झल्काउँछ।।

यो गीतमा दीपकको आफ्नै तीतो भोगाइ पनि मिसिएको रहेछ। भन्छन्, ‘हामीलाई मधेसी भएकैले सधैं सीमापारिको मान्छे सोचिन्छ, त्यसैले पनि हाम्रो भावना बुझाउने गीतको कमी महशुस हुन्थ्यो।’ उनको उही महशुस गीतको भिडिओमा देख्न पाइन्छ।source:setopati.com