काठमाडौं := बडादशैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘ढाका टोपी शिरैमा’ बोलको गीतलाई सार्वजनिक गरिएको हो । लोक शैलीमा तयार पारिएको यस गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ भने दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ ।
गीतको भिडियोमा मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का बीचको प्रेम र नोकझोंकलाई आकर्षक नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ । किरण थापाले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश र स्वस्तिमाको जोडीले एक-अर्काप्रतिको आकर्षण र असहमतिको द्वन्द्वलाई रोचक ढंगले देखाइएको छ । भिडियोका केही दृश्यमा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई पनि देख्न सकिन्छ ।
दीपेन्द्र के.खनाल निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाललगायत कलाकारको अभिनय छ । चलचित्रमा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले आफ्नो चोरको छवि भएको पात्रको भावनात्मक पाटोलाई चलचित्रमा उजागर गर्ने बताउनुभएको छ ।
सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यस चलचित्रलाई कृष्णबहादुर थापाले छायांकन गर्नुभएको हो भने नहकुल खड्काको सम्पादन छ । यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘बेला बितेसी’लाई दर्शकले निकै रुचाएका छन् । युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको सो गीतमाथि अत्यधिक टिकटक भिडियोहरू बनेका छन् ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुस् :




















