पूर्व प्रेमिकाको अश्लील तस्बिर संजालमा राख्ने मलेसियामा कार्यरत मुखियालाई जेल र जरिवाना।

जोहोर (मलेसिया):= मलेसियाको एक फ्याक्ट्रीमा कार्यरत एकजना नेपाली कामदारलाई आफ्नी पूर्व प्रेमिकाको अश्लील फोटो तथा भिडियो सामाजिक संजालमा राखेको आरोपमा अदालतले आरएम ५,००० जरिवाना गरेको छ।

आरोपित २४ वर्षीय सन्तोष मुखियाले लागेको आरोप स्वीकार गरेका छन्। अभियोग अनुसार, अप्रिल २६ बिहान करिब ११ बजे पीडितकी साथीले ती अश्लील तस्बिरहरू आरोपीतले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा राखेको जानकारी दिएकी थिइन्।

पेकाननानासस्थित एक फ्याक्ट्रीमा कार्यरत सन्तोषलाई त्यसपछि प्रहरीले पक्राउ गरेको थियो। उनको मोबाइल जफत गर्दा त्यसमै ती फोटो तथा भिडियो फेला परेको प्रहरीले जनाएको छ। उनीमाथि दण्ड संहिताको धारा २९२ अन्तर्गत अश्लील सामग्री राखेको आरोप लगाइएको हो, जसअन्तर्गत दोषी ठहर भएमा अधिकतम ३ वर्ष कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ।

वकिल बिना अदालतमा उपस्थित भएका सन्तोषले नेपालमा परिवारको हेरचाह गर्नुपर्ने भएकाले सजाय कम गरिदिन अनुरोध गरेका थिए। मजिस्ट्रेट नुर्हाफिजा हारोनले उनलाई RM५,००० जरिवाना तिर्न आदेश दिँदै जरिवाना नतिरेमा ५ महिना कैद सजाय हुने निर्णय सुनाइन्।

यो मुद्दा प्रहरीका तर्फबाट डेपुटी पब्लिक प्रोसिक्युटर इन्स्पेक्टर स्याबिरा एनिस मोहद रोड्जीले पेश गरेकी थिइन्।सन्तोषले तोकिएको जरिवाना रकम भने तिरेका छन्।