कांग्रेस महामन्त्री शर्माको गीत ‘आउ यस्तो देश बनाऔं’ को भिडियो सार्वजनिक।

काठमाडौं:= नेपाली चलचित्र ‘बिगुल’मा समाबेश गीत ‘आउ यस्तो देश बनाऔं’ को भिडियो सार्वजनिक गरिको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेशपायल राईले गाउनुभएको हो । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको कथा र निर्माण रहेको यो चलचित्र माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समाबेशीता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुशासन, विकास र शान्तिको सन्देश फैलाउन कलाकारहरू घरदैलो जागरणा अभियानमा लागेको देखाइएको छ । देश आमनिर्वाचनमा होमिन लागेको बेलामा सार्वजनिक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ ।

कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको गीतमा आमजनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ । चलचित्रका निर्देशक रमेश कोइरालाले भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको फिल्म बिगुल रहेको बताउनुभयो । ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण व्यावसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं,’ उहाँले भन्नुभयो ।

‘जेन-जी’ आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारको अभिनय छ। फिल्म राजधानीभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ।