काठमाडौं:= यही वैशाख २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । युवराज काफ्लेको शब्द, झुमा लिम्बुको संगीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ ।
गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको सुनाउनुभयो । उहाँका अनुसार अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गर्नुभएको छ, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धानसमेत गरिएको थियो ।
कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडियो र चलचित्र निर्माणको भिन्नतालाई औंल्याउनुभयो । ‘मैले चलचित्र बनाउँछु भनेर जुन दिन सोच राखे, त्यस दिनदेखि मेरो अगाडि यो प्रश्नको ठूलो पहाड थियो’ उहाँले भन्नुभयो, ‘यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो चलचित्र नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु ।’
‘काफ्ले’ गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको सुनाउनुभयो । ‘मलाई स्कुलमा शिक्षकहरूले ‘काफ्ले काफ्ले’ भन्नुहुन्थ्यो, त्यो बेला थरले बोलाउँदा रिस उठ्थ्यो । त्यसैबेला सोचेको थिए, काफ्ले थरलाई ब्रान्ड बनाउँछु । आर्टमाण्डू टिमसँग यात्रा सुरु गर्न पाए र सपना पनि पूरा हुन लाग्दा खुशी छु’, उहाँले भन्नुभयो ।
संगीतकार तथा गायिका झुमा लिम्बुले ‘काफ्ले’ गीत उहाँको बाल्यकालको सम्झनासँग जोडिएको बताउनुभयो । ‘यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु । काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो’, उहाँले भन्नुभयो । गीतका गायक सुजन चापागाईंले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर ‘ऊनको स्वीटर’ बनाएको बताउनुभयो । कार्यक्रममा झुमा लिम्बु र सुजन चापागाईंले यही गीतमा प्रत्यक्ष प्रस्तुतिसमेत दिनुभएको थियो ।
चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले चलचित्रमा काम गर्नु रमाइलो अनुभव भएको सुनाउनुभयो । ‘अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु’, उहाँले अनुभव सुनाउनुभयो, ‘यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन् ।’ अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
‘यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ। मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैंले काम गर्न पाएकी छु’, उहाँले भन्नुभयो । अभिनेता विल्सन विक्रम राईले ‘ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गर्नुभयो । अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियोे ।
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपांगी मगरलगायत कलाकारको अभिनय छ ।
सुजन चापागाईं गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको हो । सुरज कटुवाल सह-लेखकका रूपमा रहनुभएको छ । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले जिकिर गर्नुभयो । गीत सार्वजनिक समारोहमा आर्टमाण्डूको परिचय भिडियोसमेत प्रस्तुत गरिएको थियो ।