अवैधानिक आप्रवासी स्वदेश फर्काउने कार्यक्रम २.० अर्को वर्ष २०२७ , मे महिनासम्म थपियो।

पेटालिङजया ( मलेसिया ):= मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले माइग्रेन्ट रिपाट्रिएसन प्रोग्राम २.० (Migrant Repatriation Programme २.o)अर्थात स्वच्छिक घर फर्कन पाउने कार्यक्रमको अवधि आगामी वर्षसम्म थप विस्तार गरिएको जनाएको छ। बिहीबार (अप्रिल ३०) मा जारी वक्तव्यमा आप्रवासन विभागका महानिर्देशक दातुक जकारिया साबानले भने, “उक्त कार्यक्रम, जुन अप्रिल ३० मा समाप्त हुने तय थियो, अब मे ३१, २०२७ सम्म बढाइएको जानकारी दिएका छन्।”

उनका अनुसार कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि यस्तो निर्णय गरिएको हो। यस कार्यक्रममार्फत उच्च संख्यामा दर्ता, निरन्तर स्वेच्छिक फर्काइ (voluntary repatriation) तथा उल्लेखनीय जरिवाना रकम संकलन भएको छ, जसले देशमा अवैध आप्रवासीको संख्या घटाउन सहयोग पुग्नुको साथै अर्थतन्त्रमा टेवा पुर्याएको छ। “मे १९, २०२५ देखि अप्रिल २९, २०२६ सम्म, कार्यक्रमअन्तर्गत नेपालसहित ११२ देशका २,५४,१८६ जना अवैध आप्रवासीले दर्ता गरेका छन् भने कुल आरएम १२७ मिलियन राजस्व संकलन भएको छ,” उनले बताए।

“मलेसियाले गैरकानुनी रूपमा प्रवेश गर्ने र आवासीय अनुमति बिना बसोबास (ओभरस्टे) गर्नेका लागि ५ सय रिंगेट, भिसाको सर्त उल्लंघन गर्नेका लागि ३ सय र अस्थायी कागजातका रूपमा प्रत्येक पटक जारी हुने ‘विशेष पास’ का लागि २० रिंगेट जरिवाना तिर्नुपर्नेछ।”

 

उनले यसले स्वेच्छिक अनुपालन (voluntary compliance) मार्फत आप्रवासन व्यवस्थापन प्रभावकारी रहेको प्रमाणित गरेको पनि बताए।यससँगै आप्रवासन विभागले आगामी दिनमा थप कडाइका साथ निगरानी र कारबाही बढाउने जनाएको छ। “एकीकृत अपरेशन, गुप्त सूचनाका आधारमा निगरानी तथा देशव्यापी अनुगमनमार्फत कानून उल्लंघन गर्नेहरूलाई पत्ता लगाउने, पक्राउ गर्ने, मुद्दा चलाउने र देशनिकाला गर्ने काम जारी रहनेछ,” उनले भने।

उनले अवैध रूपमा बसिरहेका सबै आप्रवासीलाई तत्काल कानुनी माध्यमबाट आफ्नो स्थिति समाधान गर्न आग्रह पनि गरेका छन्। यो कार्यक्रम एक स्वेच्छिक आममाफी (amnesty) योजना हो, जसअन्तर्गत कागजातविहीन आप्रवासीहरूले कानुनी कारबाही बिना आफ्नै देश फर्किन पाउँछन्। तर, यस कार्यक्रमअन्तर्गत पहिले दर्ता भएर पनि देश नफर्किएका, ब्ल्याकलिस्टमा परेका तथा सुरक्षाकर्मीको खोजीमा रहेका व्यक्तिहरू भने समावेश हुँदैनन्।