एनआरएनए मलेसियाद्वारा श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना कार्यक्रमको तयारी पुरा।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदान–प्रदान विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासचिव विष्णु प्रसाद बरालले कार्यक्रमका बारेमा जानकारी गराएका हुन्।

उक्त कार्यक्रम सन् २०२६ मे १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा दिउँसो १ बजेदेखि ५ बजेसम्म भव्य रूपमा सञ्चालन हुने तय भएको छ। आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका अगुवा, श्रमिक प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, नेपाली समुदायको एकता, योगदान र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

सम्मानित हुने व्यक्तित्वहरूमा पुर्व उपाध्यक्ष तथा आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपाने, पुर्व अध्यक्ष तथा निवर्तमान आरसी हरी भट्टराई, संस्थापक अध्यक्ष तथा संरक्षक शंकर बहादुर पौडेल, निवर्तमान अध्यक्ष बिनोद बहादुर थापा तथा निवर्तमान अध्यक्ष राकेश प्रसाद महत्त्व रहेका छन्। उनीहरूको दीर्घकालीन योगदान र नेतृत्वको उच्च मूल्यांकन गर्दै सम्मान गर्न लागिएको हो।

आयोजकले यस कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।