कोरोना भाइरसको कारण विदेशमा रहेका १६१ जना नेपालीको मृत्यु।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस (कोभिड-19) को संक्रमणका कारण हालसम्म विदेशमा रहेका नेपाली हरुमध्ये १ सय ६१ जना नेपालीको मृत्यु भएको छ ।

यो साता थप एक नेपालीको यूकेमा निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार एक सय ५० कुल संक्रमित मध्ये २९ हजार दुई सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकमा पछिल्लो समय नेपालीमा संक्रमण दर बढेको समितिले जनाएको छ । त्यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा यो साता संक्रमण बढेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाएको छ।