नेपालमा झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको छ्: एनआरएनए लगानीकर्ता।

चीन := गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवा लगायत नेतृत्वकर्ताहरूले नेपालमा आफूहरु लगानी गर्न तयार रहेको तर , मुख्य रूपमा दुईवटा समस्या बाधक रहेको बताएका छन् ।

चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागी अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहेको तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको र त्यहीँ दुई मुख्य समस्याका कारण अप्ठेरो परेको जनाएका हुन्

एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरले नेपालमा काम कम गर्ने र गफ बढी गर्ने प्रवृत्ति पनि समस्या भएको जनाए । उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएकाले लगानीकर्ता निरुत्साहित हुने बताए ।

“मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,” कुँवरले भने, “समयअनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ । नत्र त्यो कामले नतिजा दिँदैन । अनि समय पनि पर्याप्त दिनुपर्छ ।”

कानुनी समस्याको समाधान गर्न तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनले जनाए । नेपालमा ब्याजदर निकै महँगो रहेको र यस्ता कुरामा पुनर्विचार गर्नुपर्ने उनले बताए ।

एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली ‘मेरो देश कहिले बन्छ ?’ भनेर चिन्तन गरेर बसेको जनाए । ‘मैले नगरे कसले गर्छ ?’ भन्ने चिन्ता उनीहरूमा देखिएकाले नेपाल सरकारले यसलाई अवसरका रूपमा अघि बढाउनुपर्ने सुझाव महतोको थियो ।

“नेपाल नेपालीहरूले नै बनाउने हो । राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो । हामी मिठा कुरा गर्न सिपालु छौँ,” पूर्वअध्यक्ष महतोले भने, “अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ । यही एउटा हामी सबैले संकल्प गर्नुपरेको छ ।”

सबै गैरआवासीय नेपालीहरूको एउटै सपना भएको र त्यो समृद्ध नेपाल भएको उनले बताए । नेपालजस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको उनले जनाए । कानुन देखाएर वा प्रहरी देखाएर डराएर धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने उनको सुझाव थियो ।

“उद्यमीहरूलाई धम्काएर वा डराएर हैन । देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,” पूर्वअध्यक्ष महतोले भने, “यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्राउँछन् ।”
वरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लगानीको विषयमा धेरै क्षेत्रहरू भएकोले अब लगानी बढाउनुपर्ने बताए । त्यस्तै, कोरियामा रहेका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको जनाए ।

एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईंले नेपाल र चीनका बीचमा धेरै काम गर्न सकिने तर पूर्वाधारले समस्या भइरहेको औँल्याए । आफूहरूले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकाबाट नेपाल सामग्री सप्लाई गर्न सकेको र सरकारले पूर्वाधार समयमा नबनाउँदा उद्योगीहरूले लामो समयसम्म नाकामै सामान छोड्दा ठूलो नोक्सानमा परेको उनले बताए ।

त्यस्तै, एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनै पनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रूपमै ग्यारेन्टी हुनुपर्ने धारणा राखे । चीनमा सरकार धेरै व्यावहारिक भएको र आर्थिक सुरक्षा भरपर्दो भएकाले विश्वभरबाट लगानी आएको भन्दै नेपालले पनि छिमेकीबाट यो कुरा सिक्नुपर्ने उनको सुझाव थियो ।