नेपालमा मनसुन (बर्षा) सुरु भएसंगै १२३ जनाको मृत्यु , कैयौं मानिस अझैपनि बेपत्ता।

काठमाडौं:= अविरल वर्षासँगै सुरु भएको मनसुनका कारण ठुलो जनधनको क्षति भएको छ । जेठ ३० मा मनसुन सुरु भएपछि देशभर १२३ जनाले ज्यान गुमाएका छन् ।साना–ठुला पहिरोका कारण देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग र ग्रामिण सडकमा ठुलो क्षति पुगेको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं आवत–जावतको मुख्य सडक पृथ्वी राजमार्गमा ठुलो क्षति पुगेको छ।

पृथ्वी राजमार्गस्थित चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा क्षति पुग्यो, धेरै ठाउँमा पहिरो खसेको छ ।  बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोला पुल बाढीले बगाएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ जम्बुमा याल्मो खोलाको बाढीले ठूलो क्षति गरेको छ । २४ असारमा आएको सो बाढीले बेपत्ता बनाएका १६ जनाको अझै अत्तोपत्तौ छैन।

अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर देशभर ११९ जना घाइते भएको प्रहरीले जनाएको छ । मनसुनी बाढी र पहिरोका कारण घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 
‘मनसुन सुरु भएपछि ११९ जना घाइते  भएका छन्’ नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) निरज शाहीले भने, ‘९ जनालाई सकुशल उद्धार गरिएको छ ।’ बाढी र पहिरोले देशभर ४६ जनालाई बेपत्ता बनाएको छ । तराईका धेरै भु-भाग भारी बर्षाको कारण डुवानमा परेका छन्।