क्वालालम्पुर (मलेसिया):= मलेसिया जाने कामदारको बायोमेट्रिक “मेडिकल चेकअप” गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र श्रममन्त्री रामजी यादवको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ललितपुरबाट बिहीबार पक्राउ गरिएको हो । मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए ।
यसअघि पनि भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। साथै वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम असुलेको आरोपमा खड्का यसअघि पनि प्रहरीको फरार सूचीमा परेको विवरण सार्वजनिक भएको थियो।
तत्कालीन सरकारले बायोमेट्रिक, भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा २०७५ जेठ ६ गते ठगीको आरोपमा ४० जनाभन्दा बढी व्यवसायी पक्राउ परेका थिए। तर, खड्का भने त्यतिबेला फरार रहेको विवरणमा उल्लेख छ ।
सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता, कामदारमाथिको आर्थिक शोषण तथा सिन्डिकेट नियन्त्रण गर्ने उद्देश्यले अन्य म्यानपावर व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको जनाइएको छ ।
हाल खड्का पक्राउ प्रकरण मलेसियाको सिमित २५ म्यानपावरले मात्र कामदार पठाउन पाउने गरि आएको मलेसियाको FWCMS को ‘मेमो’ सँग समेत जोडिएको छ । उक्त ‘मेमो’ अनुसार आजदेखि मलेसिया बायो मेडिकल बन्द भएको छ ।




















