बार्सिलोनामा दोस्रो चरणको लकडाउन

बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा दोस्रो चरणको लकडाउन जारी गरिएको छ । तर यो पटकको लकडाउन पहिलो चरणको जस्तो कडा नभई विभिन्न भीडभाड हुने क्षेत्रलाई तोकेर लगाइएको छ । 

कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामबाहेक घरमै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ । क्याटलोनियाली सरकारले बार्सिलोनाका बासिन्दालाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह गरेको हो । 

‘क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रि क्लबहरू बन्द गर्न आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,’ प्रवक्ता मेरीटक्सेल बुडोले जानकारी दिनुभयो । सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक शहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन् ।

शहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ । बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्तासम्मको अवधिमा नजान पनि भनिएको छ । ‘आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैं लकडाउन गरेर राख्नुपर्ने बाध्यता आउन सक्छ,’ बुडोले भन्नुभयो । उहाँले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउन सकिने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाले छिटो र निर्णायक कदम चाल्नुपरेको छ । स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपत्कालीन अवस्थाको घोषणा गर्दै कोरोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो ।

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ बिरामीमा संक्रमण भेटिएपछि स्पेनी अधिकारी अहिले चिन्तित भएका छन् । स्पेनमा कोभिड–१९ संक्रमणबाट २८ हजार ४२० व्यक्तिको मृत्यु भइसकेको छ भने तीन लाख ७३ हजार बढी व्यक्ति संक्रमित छन् ।