युवास्टारको ओलम्पिक खेल्ने सपना

काठमाडौं । नेपालका प्रिन्स दाहाललाई एसियाली देशहरूको ब्याडमिन्टनको सर्वोच्च संस्था ‘ब्याटमिन्टन एसिया’ ले एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडीका रूपमा प्रस्तुत गरेको छ ।

‘ब्याटमिन्टन एसिया’ ले शनिबार एक सामग्री प्रकाशित गर्दै नेपाली ब्याडमिन्टनका युवा स्टार दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको उल्लेख गरेको हो ।

गत मार्चमा प्रिन्स जुनियर विश्व वरीयताको सातौं नम्बरमा उक्लिनुभएको थियो । जुन नेपाली खेलाडीले हालसम्म हासिल गरेको सबैभन्दा ठूलो सफलता पनि हो । जुनियर लेभलमा नेपालका एक नम्बर दाहालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । गतवर्ष सेप्टेम्बरमा मात्रै दाहालले युएईमा भएको दुबई अन्तराष्ट्रिय जुनियर सिरिजको उपाधि जित्नुभएको थियो ।

उहाँले दुबई जुनियर इन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जित्नुभएको थियो । त्यसले उहाँ उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी बन्नुभयो । यस्तै, उहाँले प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जित्नुभएको थियो ।

उहाँले साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जित्नुभएको छ । यसका साथै उहाँले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितिसक्नुभएको छ । जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जित्नुभएका दाहालले आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल हुनुभएको थियो । नेपालगञ्जमा गतवर्ष भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उहाँले कास्यपदक जित्नुभएको थियो ।

दार्चुलाको खलंगामा जन्मनुभएका दाहालले बाल्यकालदेखि नै ब्याटमिन्टन खेल्न थाल्नुभएको हो । उहाँले हालसम्म थुप्रै उमेर समूहका राष्ट्रिय प्रतियोगिता जितिसक्नुभएको छ । आगामी दिनमा दाहालले नेपालका लागि अन्तर्राष्ट्रियस्तरमा अझै सफलता हासिल गर्ने आशा ब्याडमिन्टन एसियाद्वारा प्रकाशित सामग्रीमा उल्लेख छ ।

दाहालको करिअरमा उनका बुबाको मुख्य भूमिका रहेको छ । बुबाले नै आफूलाई ब्याडमिन्टनमा लगाउनुभएको उहाँ बताउँनुहुन्छ । ‘मेरो बुबा एकदमै खेलकुदलाई मायाँ गर्ने मान्छे हुनुहुन्थ्यो,’ दाहालले भन्नुभएको छ, ‘उहाँ आफ्नो वरपर उपलब्ध हुने सबै खेलमा रुचि राख्नुहुन्थ्यो । बुबाले सानो छँदा खलंगामा पनि ब्याटमिन्टन खेल्नुभयो ।’

सन २०१३ मा परिवारले दाहाललाई काठमाडौं पठाउनु भएपछि उहाँको करिअरले उचाई हासिल गरेको हो । काठमाडौंमा आएपछि उहाँ नेपाल पुलिस स्कुल भक्तपुरमा भर्ना हुनुभयो । ‘स्कुलमा राम्रो ब्याडमिन्टन कोर्ट थियो । प्रशिक्षकहरू पनि राम्रो हुनुहुन्थ्यो,’ दाहाल भन्नुहुन्छ ।

उहाँले छोटो समयमा नै राम्रो प्रगति गरेपछि विभिन्न उमेर समूहका प्रतियोगिता खेल्न थाल्नुभयो । लगत्तै उहाँले यू–१४, यू–१६ प्रतियोगिताको पनि उपाधि जितेपछि उदाउँदो खेलाडीका रूपमा उहाँको चर्चा चुलिन थालेको थियो । त्यस दौरान उहाँ आफूभन्दा ठूला खेलाडीहरूसँग पनि खेल्नुहुन्थ्यो । कयौं पटक सिनियर खेलाडीहरूलाई पनि पराजित गरेको उहाँसँग अनुभव छ । सिनियर खेलाडीहरूसँगको अनुभवले उहाँलाई थप परिपक्व बनाउन मद्दत पु¥यायो ।

सन् २०१८ मा उहाँले एक वर्ष बैङ्कथोयार्ड ब्याडमिन्टन स्कुल, थाइल्याण्डमा प्रशिक्षण लिनुभयो । यसले उहाँलाई अन्तर्राष्ट्रियस्तरको एक्सोजर हासिल गर्न सहयोग पुग्यो । थाइल्याण्डमा ब्याटमिन्टन सिक्न गएकै कारणले उहाँले नेपालमा आफ्नो विद्यालयको पढाइ गुमाउनुपरेको थियो । तर, आफूले थाइल्याण्डमा महŒवपूर्ण ज्ञान हासिल गरेकाले पढाई छुटेकामा त्यति चिन्ता नलागेको उहाँ बताउनुहुन्छ ।

दाहालको योजना भविष्यमा नेपालको एक नम्बर ब्याडमिन्टन खेलाडी बन्नेछ र सँगैसँगै उहाँको सपना नेपाललाई ओलम्पिकमा प्रतिनिधित्व गर्ने समेत रहेको छ । ‘अहिले जुन मिहिनेत र लगाव छ । यसलाई निरन्तरता दिन सके त्यो सपना पूरा गर्न सकिन्छ भन्नेमा विश्वस्त छु,’ उहाँले भन्नुभयो ।