पार्टी एकताको पक्षमा योगदान गर्न शर्माको अपिल

काठमाडौँ । तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि भएको गोप्य सहमतिका साक्षी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी एकताको पक्षमा योगदान गर्न नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ । 

शनिबारका लागि निर्धारित पार्टीको स्थायी कमिटी बैठक स्थगित भएलगत्तै सामाजिक सञ्जालमार्फत नेता शर्माले रुपान्तरणसहितको एकता अहिले आवश्यकता रहेकोमा जोड दिँदै पार्टी एकताको पक्षमा योगदान गर्न अपील गर्नुभएको हो ।   

उहाँले अध्यक्षद्वय ओली र दाहालले के गर्नुहोला भनेर हेरेर बस्न नहुनेमा जोड दिँदै पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्ने गम्भीर जिम्मेवारी नेता–कार्यकर्ताको काँधमा आएको पनि जिकिर गर्नुभएको छ । ‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता– कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ,’ शर्माले भन्नुभएको छ । 

कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त नभएको स्मरण गराउँदै उहाँले भन्नुभएको छ, ‘एकताको एक अभियन्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु ।’ 

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि भएको पाँच बुँदे गोप्य सहमतिका साक्षी मध्ये नेता शर्मा पनि पर्नुहुन्छ । ओली र दाहालबीच भएको उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र कार्यकारी अध्यक्षका तर्फबाट शर्माले हस्ताक्षर गर्नुभएको थियो । ओली–दाहालबीचको गोप्य सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो । 

नेता शर्माले पार्टी एकता गर्दा गरिएको सहमति, आमजनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरेर रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह पनि गर्नुभएको छ । उहाँले नेकपा फुट्न नफुट्ने र फुट्न पनि नदिइने दाबी गर्नुभएको छ ।  

‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिइदैन । पार्टीलाई विचार, विधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिनुहुँदैन,’ शर्माले भन्नुभएको छ, ‘तसर्थ एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं ।’

उहाँले नेकपाभित्र चुलिएको विवादलाई ओली–दाहालबीचको समस्याका रुपमा मात्रै हेर्न नहुने पनि उल्लेख गर्नुभएको छ । ‘नेकपाभित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ,’ नेता शर्माले भन्नुभएको छ ।