जागिरपछिको जीवन पनि प्रहरीकै श्रीवृद्धिका लागि : महानिरीक्षक ज्ञवाली

काठमाडौँ ।प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले जागिरपछिको जीवन पनि प्रहरीकै श्रीवृद्धिका लागि समर्पण गर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको निरीक्षण एंव आधुनिक (स्वचालित) प्रवेशद्वारको उद्घाटन गर्न शनिबार त्यहाँ पुग्नुभएका आइजिपी ज्ञवालीले आफूले ३० वर्षे लामो सेवा प्रहरी संगठनमै बिताएकाले बाँकी जीवन पनि प्रहरीकै लागि समर्पण गर्ने बताउनुभयो । आइजिपी ज्ञवालीले असार २४ गतेबाट अवकाश लिँदै हुनुहुन्छ । 

उहाँले पछिल्लो पटक देखिएको सीमा विवादबारे उनले कोभिड–१९ को नियन्त्रणमा जसरी नेपाल प्रहरी अग्रपंक्तिमा रहेको छ, त्यसैगरी सीमा रक्षाको लागि पनि अग्रपंक्तिमै रहने बताउनुभयो । ज्ञवालीले अग्रपंक्तिमा रहेर अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रहरी कर्मचारीहरूलाई उचित शिक्षा र व्यावसायिक दक्षता प्रदान गरी शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने आँैल्याउनुभयो । 

महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई उत्कृष्ट शिक्षा, आचरण एवं व्यवहार सिकाउने नेपाल प्रहरीका विभिन्न तालिम केन्द्रहरूमध्ये प्रहरी युक्ति तालिम महाविद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । अझै उत्कृष्ट जनशक्ति उत्पादन गर्नेतर्फ सदैव क्रियाशील रही व्यावसायिक दक्षता प्रदर्शन गर्न महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीको उच्च छविलाई कायम राख्न सबै प्रहरी कर्मचारीहरूले आफ्नो विवेक, निष्ठा र साहसको प्रदर्शन गर्दै राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रहरी महानिरीक्षक ज्ञवालीले जोड दिनुभयो । ज्ञवालीको अवकाशपछि आईजीपीका लागि दुई जना अतिरिक्त महानिरीक्षक(एआईजी) दौडमा छन् । तर त्यसबारे भने उहाँले प्रसंगै कोट्याउनुभएन । 

सुनवल नगरपालिकाको आर्थिक सहयोग र श्रमदानबाट बनाइएको १६ लाख बराबरको स्वचालित प्रवेशद्धार र अधिकृत कक्षको आइजीपी ज्ञवाली र नगरप्रमुख भीम बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा महाविद्यालयका प्रचार्य एंव वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ७५ विगाहा क्षेत्रफलमा फैलिएको महाविद्यालयमा निर्माण भएका भौतिक संरचना र अन्य संरचनाका बारेमा जानकारी गराउनुभएको थियो ।