काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष चुलिँदै जाँदा नेताहरू गुटगत बैठकमार्फत रणनीति तयार पार्न थालेका छन् । स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब बढिरहेको अवस्थामा ओलीले प्रधानमन्त्रीनिवास बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू ललितपुरको एक होटलमा गुटगत रणनीति बनाउन बुधबार छलफलमा जुटेका थिए ।
बुधबार स्थायी कमिटी बैठक छोट्याएर नेताहरू गुटगत रणनीतिमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार आफ्ना निकट केही नेतालाई बालुवाटारमा बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुभएको थियो भने कार्यकारी अध्यक्ष दाहालसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरू ललितपुरको एक होटलमा बसेर रणनीति तयार पारेको स्रोतले जनाएको छ । छलफलमा दाहाल–नेपाल खेमामा रहेका अधिकांश स्थायी कमिटी सदस्य सहभागी भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार स्थायी कमिटीमा उठाइएको राजीनामा मागबारे प्रधानमन्त्रीको प्रतिक्रिया कुर्ने, राजीनामा दिन तयार नभए बहुमतीय प्रक्रियाबाट अघि बढ्ने निष्कर्ष दाहाल–नेपाल पक्षको बैठकले निकालेको छ ।
बुधबारको बैठकमा पनि राजीनामा मागियो
यसअघि बुधबार स्थायी कमिटी बैठकमा धारणा राख्ने पाँचमध्ये चार सदस्यले प्रधानमन्त्रीको राजीनामा माग्नुभएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राख्नुभएको थियो । जसमध्ये पर्यटन मन्त्रीसमेत रहेका नेता भट्टराई बाहेकका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेको बैठकमा सहभागी स्रोतले जानकारी दिएको छ ।
‘आज (बुधबार) को बैठकमा योगेशजीबाहेक चारै जनाले प्रधानमन्त्रीजी पार्टी र सरकार चलाउन अयोग्य हुनुभएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो,’ बैठकमा सहभागी एकजना स्थायी कमिटी सदस्यले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार मन्त्री भट्टराईले भने नेताहरूका बीचमा छलफल गरेर निकास निकाल्नुपर्ने मध्यमार्गी बाटो अपनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी नभई गुट चलाएको आरोप लगाउनुभयो । स्रोतका अनुसार यादवले पार्टी सञ्चालन गर्ने योग्यता ओलीसँग नभएको भन्दै तत्काल राजीनामा दिन माग गर्नुभएको थियो ।
अर्का स्थायी कमिटी सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले पार्टी र सरकारलाई निषेध गरेको देखिएको भन्दै आलोचना गर्नुभयो । स्रोत भन्छ, ‘खतिवडाजीले प्रधानमन्त्रीजीको अभिव्यक्तिलाई सांस्कृतिक र वैचारिक विचलन हो भन्नुभयो । कूटनीतिक मर्यादाको पनि ख्याल नभएको उहाँको भनाइ थियो ।’ प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार ढाल्न भारत सक्रिय भनेर दिएको अभिव्यक्तिप्रति उहाँले संकेत गर्नुभएको थियो ।
ओलीले आत्मालोचना गर्दै सरकार नछाडे पार्टी अध्यक्षबाट राजीनामा दिनैपर्नेमा खतिवडाको जोड रहेको बताइएको छ । स्थायी कमिटी सदस्य एनके प्रसाइँले पनि प्रधानमन्त्रीले जिम्मेवारी नबुझेको भन्दै आलोचना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई सत्ताच्यूत गर्ने षड्यन्त्र भइरहेको दाबी गरेपछि मंगलबारको बैठकमा शीर्ष नेताहरूले राजीनामा माग्नुभएको थियो । नेकपाको जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको हो ।
बालुवाटारमा मंगलबार बसेको जारी केन्द्रीय कमिटीको चौथो बैठक पूर्वनिर्धारित एजेण्डामा प्रवेश नै नगरी प्रधानमन्त्री ओलीको राजीनामा केन्द्रित भएको थियो । बैठकमा अध्यक्ष दाहालले भारतविरुद्ध अभिव्यक्ति दिएर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले गम्भीर गल्ती गरेको टिप्पणी गर्नुभएको थियो । उहाँले ओलीको पछिल्लोे अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको टिप्पणी गर्नुभएको थियो । भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी मेमोरियल फाउन्डेसनले ६९ औँ मदन जयन्तीका सन्दर्भमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिनुभएको थियो ।
नेकपाको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेगरी स्थगित भएको छ । बैठकमा पाँच जना स्थायी कमिटी सदस्यहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक बिहीबार बिहान ११ बजे फेरि बस्ने नेकपाले जनाएको छ ।
प्रधानमन्त्रीलाई ‘प्रोक्सी वार’ अन्त्य गर्न मन्त्रीहरूको सुझाव
बुधबार स्थायी कमिटी बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओलीले पार्टीका केही स्थायी कमिटी सदस्य र मन्त्रीहरूसँग परामर्श गर्नुभएको थियो । परामर्शमा सहभागी स्थायी कमिटी सदस्य र मन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई पार्टीभित्र देखिएको ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’ अन्त्य गर्न सुझाउनुभयो । घटनाक्रमले पार्टीको शीर्षस्थ तहमा विश्वासको संकट उत्पन्न भएको देखाएको भन्दै उहाँहरूले आपसी संवादका माध्यमबाट समाधान खोज्न पनि आग्रह गर्नुभयो ।
परामर्श बैठकमा सहभागी स्थायी कमिटी सदस्य र मन्त्रीहरूले एकताबाट भाग्ने छुट कसैलाई नभएको जिकिर गर्दै अहिले उठेका समस्याहरू समाधान गर्दै नयाँ जगमा पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको स्रोतले जनाएको छ ।
बालुवाटारमा बोलाइएको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न नेताहरूसँग आग्रह गर्नुभएको थियो । परामर्शका क्रममा उहाँले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरूलाई आग्रह गर्नुभएको स्रोतको भनाइ छ ।
परामर्श बैठकमा पूर्व–माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा गृहमन्त्रीसमेत रहनुभएका थापा, रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने मौन रहेको बताइएको छ ।
प्रधानमन्त्रीको मुटु परीक्षण
बुधबार नै प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पुग्नुभएको थियो । नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली उक्त अस्पताल जानुभएको र परीक्षणपछि बालुवाटार फर्किनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
फागुन तेस्रो साता दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीलाई धेरै धपेडी नगर्न चिकित्सकले सुझाव दिए पनि पछिल्लो समय सरकारविरोधी प्रदर्शन, पार्टीभित्रै बढ्दो असन्तुष्टिका कारण उहाँको दैनिक व्यस्तता बढ्दो छ ।




















