वास्तवमै मर्कामा छन् व्यवसायीहरू

हाल देश लकडाउनमा छ । असार १ गतेयताको लकडाउन निकै खुकुलो छ । वास्तवमा भन्ने हो भने हाल लकडाउन छ कि छैनजस्तो अवस्था छ । बजारमा मानिसहरू हिँडिरहेकै छन् । गाडी चलिरहेकै छन् । तैपनि निजी विद्यालय, उच्च मावि क्याम्पसहरू र सार्वजनिक यातायात चलेका छैनन् । वास्तवमा तीनै क्षेत्रमा काम गरेर खानेहरूको संख्या भने धेरै छ । 

अहिले तिनले झण्डै चार महिनाको लकडाउनका कारण आफ्नो रोजीरोटी गुमाइरहेका छन् । न त सरकारले तिनका लागि केही योजना ल्याएको छ न तिनले कुनै माग अघिसारेका छन् । तिनीहरू अनुशासित बनेर धैर्य गरिरहेका छन् । रोगको भय सबैलाई छ र सबैले महामारीबाट जोगिनै पर्छ तर यसो भन्दैमा भोकभन्दा रोग ठूलो हुन्छ भन्ने होइन । मानिस रोगलेभन्दा भोकले मर्ने अवस्थाको सिर्जना हुँदैछ । 

अरू देशले जस्तो हाम्रो सरकारले नै जनतालाई खाद्यान्नसहितको राहत प्याकेज दिनसक्ने अवस्था पनि छैन । लकडाउनको सुरुमा केही मानिसलाई केही निकायहरूले दुई चार किलो चामल बाँडेका थिए, त्यसले मात्र हालसम्म तिनलाई पुगिरहेको अवश्यै छैन । लकडाउनका समयमा आत्महत्या गर्नेहरूको संख्या निकै नै पुगेको छ । होला, ती सबैले लकडाउनकै कारणले मात्र आत्महत्या गरेका नहोलान् तर कारण केही त यो पनि हो । 

गत मंगलबार ट्याक्सी व्यवसायीले आआफ्ना ट्याक्सीसहित प्रदर्शन गरे । उनीहरूको माग पनि यही हो । व्यवसाय गर्न पाउनुप¥यो भनेरे तिनीहरूले प्रदर्शन गरेका हुन् । ट्याक्सी चालकहरूमध्ये केहीले ऋण गरेर आफैंले ट्याक्सी लिएका धेरै छन् । गाउँघरबाट आएका गरिबहरूले व्यवसाय गरी जीविकोपार्जन गर्न र छोराछोरीलाई शहरको स्कुलमा पठाउने सपना देखेर यस्ता व्यवसाय गर्दै आएका छन् । 

बैंकले तिनीहरूले लिएको किस्ताका लागि ताकिता गर्न थालेपछि आन्दोलित बन्नुपर्ने तिनको बाध्यता हो । व्यवसाय गर्न पाएको छैन, कमाइ भएको छैन, तिनले कसरी किस्ता तिर्ने ? त्यसैले तिनीहरू प्रदर्शनमा उत्रिएका हुन् । तिनले यातायात व्यवस्था विभागमार्फत चाबी सरकारलाई बुझाएका छन् । निजी सवारी चलाउँदा कोरोना नसर्ने अनि सार्वजनिक यातायातबाट सर्ने भन्ने तिनको प्रश्न छ । 

उनीहरू आपूm ट्याक्सी लिलाम गर्ने अवस्थामा पुगेको बताउँछन् । यो यथार्थ पनि हो तर यस्तो अवस्थामा तिनको ट्याक्सी लिलाम हुने सम्भावना क्षिण छ । केही दिनपहिले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रोग हो भन्नुभएको कुरालाई आधार मानेर तिनले प्रश्न उठाएका छन्, ‘त्यसो हो भने यस्ता व्यवसायमा किन रोक ?’ 

कुरा ट्याक्सी चालकहरूको मात्र होइन सबै प्रकारका व्यवसायीको अवस्था उस्तै छ । ऋणविना कुनै पनि व्यवसाय चलेका छैनन् र अहिले बन्द रहेका बेला तिनले कसरी किस्ता तिर्न सक्छन् ? सरकार जनताको प्रतिनिधि वा अभिभावक हो । त्यसैले यस्तो अवस्थामा उसले कानमा तेल हालेर बसिरहनु हुँदैन । यस्ता समस्यहरूको समाधानमा केही न केही त सरकारले सोच्नैपर्छ ।