सासु–ससुरा र नन्द मिलेर बुहारी हत्या

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ सुर्यचोकमा आफ्नै बुहारीको हत्या अभियोगमा सासु–ससुरासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतककी ससुरा ५८ वर्षीय प्रकाश थापा, ५५ वर्षीया सासु तुलसा थापा, नन्दहरु २७ वर्षीया दुर्गा थापा र २३ वर्षीया सिता थापा छन् । प्रहरीले सोमबार पत्रकारसम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

गत असार २ गते घरको भान्छा कोठामा मृत अवस्थामा भेटिनु भएकी २४ बर्षीया सुस्मिता केसी थापाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरी उपरीक्षक सुशील सिंह राठौरले घरायसी विवादका साथै मानसिक यातना, यौनजन्य कारण र आर्थिक कारणका कारण सुस्मिताको हत्या गरिएको पत्रकारसम्मेलनको क्रममा जानकारी दिनुभयो । 

प्रहरीले विहान सबेरै ससुरा प्रकाश थापाले बुहारीले आत्महत्या गरी मरेको भन्दै प्रहरीलाई सूचना गरेपछि प्रहरी घछनासथल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ । अनुसन्धानका क्रममा असार १ गते राति ससुरा प्रकाश थापाले रक्सीको मातमा  मृतक सुस्मिता थापालाई टाउकोमा लौरोले प्रहार गरेको र नन्द सिता थापाले भाउजुमाथि ढुङ्गाको लोहोरोले प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । 

उक्त हत्यामा सहयोगी भुमिका खेलेको आरोपमा सासु तुलसा थापा र नन्द दुर्गा थापालाईसमेत पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सो हत्या काण्डको थप अनुसन्धान भइरहेको जनाएको छ ।