जोहोर (मलेसिया ):= गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोर, मलेसियाले यस वर्षको हरितालिका तीजको पावन अवसरमा ‘तीज विशेष कार्यक्रम २०२६’ तथा भव्य दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ।
विशेषगरि जोहोर क्षेत्रमा मलेसियालाई कर्मथलो बनाएर बसोबास गरिरहेका नेपाली दिदीबहिनीहरू बीचको एकता, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “महिलाको पहिचान, संस्कृति र एकताको पर्व हरितालिका तीज” र “नाचौँ, गाऔँ, दरौँ, रमाऔँ, तीजको रमझममा एकताबद्ध बनौँ” भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम आउँदो २०२६ सेप्टेम्बर १३ तारीख आइतबारका दिन मलेसियाको जोहोर बारुस्थित ‘जो होटेल’ (Jo Hotel, Johor Bahru, Malaysia) मा बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा दर खुवाउने कार्यक्रम रहनेछ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरका अध्यक्ष श्री वेदना श्रेष्ठ र सचिव विनय हमालद्वारा जारी निमन्त्रणा पत्र अनुसार, कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउनका लागि मलाया खबरका पत्रकार घनश्याम चौधरी “आरएन” लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूलाई अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।
आयोजक संस्था एनआरएनए जोहोरले मलेसियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक आह्वान गरेको छ।




















