
सेलाङ्गोर::= मलेसियाको प्रतिष्ठित राष्ट्रिय खेलकुद प्रतियोगिता SUKMA २०२६ मा सेलाङ्गोर राज्यले शानदार प्रदर्शन गर्दै ऐतिहासिक रूपमा च्याम्पियन बन्न सफल भएको छ। पदक तालिकामा दबदबा कायम गरेको सेलाङ्गोरले कुल १०१ स्वर्ण, ७३ रजत र ७१ कास्य गरी २४५ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो।
सेलाङ्गोरले प्रतियोगिताअघि ८० स्वर्ण पदक जित्ने लक्ष्य राखेको थियो। तर खेलाडीहरूको उत्कृष्ट प्रदर्शनसँगै राज्यले लक्ष्यभन्दा २१ वटा बढी स्वर्ण जित्दै अपेक्षाभन्दा निकै ठूलो सफलता हात पारेको छ। ऐतिहासिक जितसँगै सेलाङ्गोरभर उत्सवको माहोल बनेको छ। राज्यको गौरव बढाउने खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यहरूको सम्मान र सफलताको खुसीयाली मनाउन सेलाङ्गोर सरकारले १ सेप्टेम्बर २०२६, मंगलबारलाई विशेष सार्वजनिक बिदा घोषणा गरेको छ।

सेलाङ्गोरका मुख्यमन्त्री दातो श्री अमिरुद्दिन शारीले SUKMA २०२६ को समापन समारोहका क्रममा सार्वजनिक बिदाको घोषणा गर्नुभएको हो। घोषणाअनुसार उक्त सार्वजनिक बिदा सेलाङ्गोर राज्यको क्षेत्रभित्र लागू हुनेछ। सरकारी कार्यालय तथा सम्बन्धित संस्थासँगै विद्यालय, निजी क्षेत्र र व्यवसायमा कार्यरत स्थानीय तथा विदेशी श्रमिकहरूलाई समेत यो बिदा लागू हुने बताइएको छ।
SUKMA मा सेलाङ्गोरको यो ऐतिहासिक सफलताले राज्यको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ। खेलाडीहरूको कडा मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप घोषणा गरिएको सार्वजनिक बिदाले विजयको खुसीलाई अझ विशेष बनाएको छ।
स्रोत: स्थानीय मिडिया



















