कर्मचारीको मिलेमतोमै चोरीका मोटरसाइकल कारोबार गिरोहका १२ जना पक्राउ

कञ्चनपुर ।कञ्चनपुरमा चोरीका मोटरसाइकल कारोबारमा यातायातकै कर्मचारीको संलग्नता देखिएको छ । प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न कम्पनीका मोटरसाइकल, मोबाइल र नक्कली बिलबुकहरुसहित मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएका यातायात कार्यालयका दुई जना कर्मचारीसहित १२ जनालाई पत्राmउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको लालझाँडी गाउपालिका–१ का ४२ वर्षीय रामविलास राना, ४ का ३५ वर्षीय बहादुर राना, र सोहि ठाँउका राम दयाल राना रहेका छन् । त्यस्तै, बेदकोट–५ का लक्ष्मी राना, प्रदिप राना, ६ का राजकुमार राना, सोही ठाँउका रामलाल, हरेन्द्र राना र १० का ३० वर्षीय सुवेश राना र शुक्लाफाँटा १२ घर भइ धनगढीमा बस्दै आएका श्याम राना छन् । 

त्यसैगरी, चोरीका मोटरसाईकलको नक्कली कागजात बनाएको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना तथा कार्यालय सहयोगी गणेश भट्टराईलाई समेत नियन्त्रणमा लिइएको कञ्चनपुरमा प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो । 

उहाँले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले प्रदेश प्रहरी र कञ्चनपुर प्रहरीको सहयोगमा आठ वटा चोरीका मोटरसाईकल किर्ते कागजात बनाई बेचविखनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आवश्यक कार्वाही शुरु गरिएको जानकारी दिनुभयो । 

मोटरसाइकल चोरी तथा विक्रीमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि सोधपुछका क्रममा यातायात कार्यालयका कर्मचारीद्वयमार्फत नक्कली बिलबुक बनाउने गरेको तथ्य खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेहरुको साथबाट आठ थान मोटरसाइकल बरामद गरिएको छ भने थप चार वटा मोटरसाइकललाई बरामद भएका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र उनीहरुमाथि सरकारी छाप किर्तेअन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।